


काठमाडौं, असार १८
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । हिजो मंगलबार पनि बैठक सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो । बैठकमा उपसभापति र महामन्त्रीको प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ ।
बैठकमा केन्द्रीय सदस्य रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला, गृहमन्त्री रमेश लेखकलगायत तीन दर्जनभन्दा बढी नेताहरूले आ–आफ्ना विचार प्रस्तुत गरेका छन् ।
गृहमन्त्री समेत रहेका नेता रमेश लेखकले हालको सत्ता गठबन्धनको विकल्प खोज्न नहुने स्पष्ट धारणा व्यक्त गरे । उनले सरकार सञ्चालनको क्रममा गठबन्धनभित्र कुनै ठूला समस्या नरहेको दाबी गर्दै सम्भावित समस्या समाधानका लागि दुई प्रमुख दलहरूबीच सल्लाह र सहकार्य जरुरी रहेको बताए ।
बैठकमा प्रस्तुत विभिन्न राजनीतिक र सांगठनिक प्रस्तावमाथि विस्तृत छलफल भइरहेकाले कार्यसमितिको बैठक आज पुनः असार १८ गते (मंगलबार) दिउँसो १२ः३० बजेका लागि बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पार्टीको रणनीतिक दिशा, सरकारको भूमिकाबारे मूल्यांकन र आगामी राजनीतिक कदमहरूका सन्दर्भमा यो बैठक निर्णायक बन्ने अपेक्षा गरिएको छ ।