


काठमाडौँ, असार १३ —
एक स्वतन्त्र, सम्पन्न र न्यायपूर्ण समाजको निर्माणमा साहित्यकारहरूको भूमिका अतुलनीय रहने प्रगतिशील साहित्यकार मोहनविक्रम सिंहले बताउनुभएको छ। प्रगतिशील लेखक सङ्घ, नेपाल अन्तर्गत वैचारिक विमर्श तथा परिसंवाद विभागद्वारा आयोजित ८०औँ शृङ्खला कार्यक्रममा सिंहले साहित्य केवल सौन्दर्यको अभ्यास नभई सामाजिक रूपान्तरणको अभियान पनि हो भन्ने धारणा व्यक्त गर्नुभएको हो।
कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा सम्पन्न भएको हो। सिंहले नेपालमा राणा शासन, पञ्चायती शासन, राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनासम्मका ऐतिहासिक आन्दोलनहरूमा साहित्यकार र बुद्धिजीवीहरूको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै भन्नुभयो, “राजनीतिक आन्दोलन मात्र काफी हुँदैन, प्रतिगमनविरुद्ध निर्णायक संघर्षका लागि वैचारिक आन्दोलन अपरिहार्य छ।”
सिंहले साहित्यकारहरूलाई दार्शनिक र वैचारिक रूपमा सशक्त बन्नुपर्ने खाँचो औँल्याउँदै समाज रूपान्तरणका दीर्घकालीन कार्यभार पूरा गर्न उनीहरूलाई अग्रपङ्तिमा उभिन आह्वान गर्नुभयो।
प्रलेसका पूर्व अध्यक्ष तथा सल्लाहकार प्रा. डा. जीवेन्द्रदेव गिरीले सिंहको कार्यपत्रमा टिप्पणी गर्दै विचार र अनुसन्धानमा अझ गहिरो लेखनको आवश्यकता औँल्याउनुभयो। “प्रगतिशील लेखकहरूले सत्यलाई सत्य र गलतलाई गलत भन्ने साहस राख्नुपर्छ,” गिरीको भनाइ थियो।
कार्यक्रममा विभाग संयोजक समीर सिंहको अध्यक्षता, कुशल बोगटीको सञ्चालन र डा. कृष्ण सुवेदी भारद्वाजको स्वागत मन्तव्य रहेको थियो। महासचिव पारस ढकालले सिंहको कार्यपत्र वाचन गर्नुभएको थियो।
प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हातर्मछालीले धन्यवाद मन्तव्य दिनुभएको कार्यक्रममा मातृका पोखरेल, डा. मधुसूदन गिरी, डा. पुष्करराज भट्ट, जगत् वाशिष्ठ, हेमराज आश्रम, गणेशा कार्की, नमुना शर्मा, ईश्वरी शर्मा, वैरागी जेठाजस्ता स्रष्टाहरूले सिंहको प्रस्तुतीमा पूरक टिप्पणी गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा मोहनविक्रम सिंहले उपस्थित प्रतिक्रियात्मक टिप्पणीहरूमा जवाफ दिँदै साहित्य र विचारबीचको सम्बन्ध झन गहिरो र प्रतिबद्ध बन्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
