


काठमाडौं, असार १२ । इजरायल, इरान र अमेरिकाबीच हाल उत्पन्न भइसकेको तनावपूर्ण युद्धको परिस्थितिप्रति प्रगतिशील लेखक सङ्घ, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले उक्त युद्धप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यसले गाज्जा लगायतका फिलिस्तीनी भूमिमा भइरहेको नरसंहारको ढोका अझै फराकिलो बनाउने चेतावनी दिएको छ ।
प्रगतिशील लेखक सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, इजरायलले इरानमाथि आक्रमण गर्दा त्यसलाई अमेरिकी साम्राज्यवादको प्रत्यक्ष समर्थन रहेको पुष्टि भएको छ । यसरी भइरहेको इजरायल–इरान–अमेरिका त्रिकोणीय तनावको सारा असर गाज्जा, फिलिस्तीन र क्षेत्रीय जनतामाथि पर्ने निश्चित छ ।
सङ्घले एक सार्वभौम मुलुक इरानमाथि इजरायली आक्रमणको भर्त्सना गर्दै अमेरिकालाई समेत युद्ध भड्काउने भूमिकामा रहेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, अमेरिकाले विश्वका विभिन्न मुलुकमाथि आक्रमण गरेर गरेको हस्तक्षेप, झूटा आरोपमा युद्ध थोपरेको इतिहास जगजाहेर छ । इराक, सिरिया, लिबिया, यमन, अफगानिस्तान हुँदै हाल गाज्जा र इरानसम्म पुग्दा अमेरिकाको युद्ध उक्साउने परम्परा अझ स्पष्ट देखिन्छ ।
सङ्घले संयुक्त राष्ट्रसंघको नारा दिँदै गरिने युद्ध थोपर्ने कामको विरोध गर्दै राष्ट्रसंघ, मानव अधिकार आयोग तथा अन्य अन्तर्राष्ट्रिय निकायहरूलाई निष्पक्ष भुमिका निर्वाह गर्न पनि आग्रह गरेको छ । साथै, नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल पहल थाल्न पनि विशेष आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, युद्धले कुनै पनि देशको हित गर्दैन । युद्ध शान्तिको हत्या हो । नेपाली लेखकहरू सधैं मानवता र शान्तिको पक्षमा उभिँदै आएका छन् ।
प्रेस विज्ञप्तिमा प्रगतिशील लेखक सङ्घ, नेपालका अध्यक्ष डा. देवी दुलाल र महासचिव पारस ढकालले हस्ताक्षर गरेका छन् ।
