News Portal

  • शंकर नेशनल स्कुलको ४५ दीक्षान्त समारोह सम्पन्न

    दोलागिरि संवाददाता२०८२ जेठ ३२
    १९८ पटक

    भक्तपुर, दधिकोट – जेठ ३१
    शंकर नेशनल स्कुल, दधिकोटमा शुक्रवार एक भव्य दीक्षान्त समारोह सम्पन्न भएको छ। कार्यक्रममा प्ले ग्रुपदेखि युकेजी कक्षा अध्ययनरत ५० जना विद्यार्थीहरूलाई कक्षा १ मा पदोन्नति दिइएको छ।

    दीक्षान्त समारोह इम्पेरियल बैंक्वेट दधिकोटमा आयोजना गरिएको थियो। समारोहमा विद्यार्थीहरूले नृत्य, नाटक, गायन, फेसन शो लगायतका सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। कार्यक्रम अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

    विद्यालयका प्रिन्सिपल शरण चौलागाईं का अनुसार शंकर नेशनल स्कुलले व्यवहारिक र संस्कारयुक्त शिक्षालाई विशेष प्राथमिकता दिँदै आएको छ। उनका अनुसार विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासका लागि गतिविधि-आधारित शिक्षण प्रणाली लागू गरेको छ।

    विद्यालयका व्यवस्थापक मीनकुमार श्रेष्ठ ले शंकर नेशनल स्कुलले न्यून शुल्कमा पनि राजर्षि गुरुकुल वा काठमाडौँ वर्ल्ड स्कुल सरहको गुणस्तरीय शिक्षा प्रदान गरिरहेको दाबी गरे। उनले भने, “हामी संस्कार र अनुशासनमा कुनै सम्झौता गर्दैनौँ। विद्यालयको नियम नमान्ने विद्यार्थीलाई आवश्यक परे कारबाही समेत गरिन्छ।”

    कार्यक्रममा विद्यालयका शिक्षकहरूद्वारा विभिन्न प्रतिभाशाली विद्यार्थीहरूलाई सम्मान पनि गरिएको थियो। अभिभावकहरूले विद्यालयको शिक्षण पद्धति र अनुशासनलाई प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले बालबालिकाको आत्मविश्वास अभिवृद्धि गर्ने बताएका छन्।

    विद्यालयको तर्फबाट कार्यक्रम संयोजक निशा काफ्ले ले सबै अभिभावक, विद्यार्थी र शिक्षकलाई कार्यक्रम सफल बनाएकोमा धन्यवाद ज्ञापन गरेकी थिइन्।

    प्रतिकृया दिनुहोस्