

भक्तपुर, जेठ २९ —
“हाम्रो कला, हाम्रो संस्कृति : मध्यपुर थिमी हाम्रो सम्पत्ति” भन्ने नाराका साथ अघि बढिरहेको मध्यपुर थिमी नगरपालिकाले २०८२ साल जेठ २९ गते बिहीबारका दिन ‘होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र’ उद्घाटन गरी सेवा प्रारम्भ गरेको छ।
नगरपालिका वडा नं. ७ स्थित नगदेशमा स्थापना गरिएको यस सेवा केन्द्रको उद्घाटन नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगदेशका नायोपम्हालाई स्वास्थ्य केन्द्रको टिकट हस्तान्तरण गर्दै औपचारिक रूपमा गर्नुभयो। यो सांकेतिक कार्यमार्फत नगरले सेवा शुभारम्भको ऐतिहासिक दिनलाई स्थानीय परम्परा र जनसंस्कृतिसँग जोड्दै अघि बढाएको छ। कार्यक्रममा प्रमुख श्रेष्ठले भने, “हाम्रो उद्देश्य जनताको स्वास्थ्य पहुँचलाई अझ सरल बनाउनु हो। होमियोप्याथिक उपचारले नागरिकहरूको रोग निदानमा ठूलो सहयोग पुर्याउने अपेक्षा हामीले लिएका छौं।”
यस सेवा केन्द्रबाट वैकल्पिक चिकित्सा विधिअन्तर्गत होमियोप्याथिक सल्लाह, उपचार र औषधि सेवा निःशुल्क वा न्यून शुल्कमा प्रदान गरिनेछ, जसले विशेषतः न्यून आय भएका नागरिकहरूलाई राहत दिने विश्वास गरिएको छ।
उद्घाटन कार्यक्रममा नगर प्रमुखसहित अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी, सञ्चारकर्मी र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो।
मध्यपुर थिमी नगरपालिकाले यस स्वास्थ्य सेवा केन्द्रलाई भविष्यमा अन्य वडाहरूमा समेत विस्तार गर्ने योजना रहेको बताएको छ।
