

भक्तपुर, जेठ १६।
घरेलु उद्योग संरक्षण र पर्यटन प्रवर्द्धनका लागि भक्तपुरमा ‘उत्पादन मेला–२०८१’ सुरु भएको छ। भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा सञ्चालित यो मेला जेठ १६ र १७ गते, शुक्रबार र शनिबार, न:पुखु परिसर, भक्तपुर–२ मा आयोजना गरिएको हो।
मेला बिहान १० बजेबाट सुरु भई बेलुका ६ बजेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। मेलाको उद्देश्य स्थानीय स्तरमा उत्पादन हुने परम्परागत तथा हस्तकलाका सामग्रीहरूलाई प्रवर्द्धन गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्नु हो।
मेलामा भक्तपुरका विभिन्न रैथाने उत्पादनहरूको प्रदर्शनी तथा विक्री गरिनेछ। प्रमुख आकर्षणमा काठकला, हस्तकला, स्वर बजी जु जु धौं, घरबुना कपडा, माटाका भाँडाहरू, धातुकला लगायतका सामग्रीहरू रहेका छन्। साथै, नेवारी साँझाका परिकारहरूको समेत स्वाद लिन पाइनेछ।
मेलामा स्थानीय उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको प्रत्यक्ष बिक्री तथा प्रचारप्रसार गरिने हुँदा उपभोक्ता र पर्यटकहरूलाई लोकल सामग्रीमा पहुँच पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयको सहकार्य रहेको छ भने “गो लोकल” अभियानद्वारा मेलाको प्रवर्द्धन गरिएको छ।
आयोजक संस्था भक्तपुर घरेलु तथा साना उद्योग संघका अनुसार यस्ता मेलाले परम्परागत सीप, संस्कृति र स्थानीय उद्यमशीलतालाई जगेर्ना गर्न सघाउ पुर्याउने विश्वास गरिएको छ।
