

खुमलटार, काठमाडौं — जेठ १७, २०८२
नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने आफ्नो अडानमा कुनै परिवर्तन नआएको स्पष्ट पारेको छ। शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले उक्त अडान पुनः पुष्टि गर्दै लेखकको तत्काल राजीनामाको माग दोहोर्याएको हो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्नी सापकोटाले भने, “हामीले संसदमा बजेट प्रस्तुत गर्न मात्रै सहमति जनाएका हौं। गृहमन्त्रीको राजीनामा माग गर्ने अघिल्लो निर्णय यथावत् छ।” भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको भूमिका अस्वीकार्य रहेको भन्दै माओवादी केन्द्रले सरकारभित्रको असन्तोष झन् प्रष्ट पारेको छ।
बैठकले माओवादी केन्द्रको पहिचान र अभियानसँग जोडिएको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानलाई पुनः सक्रिय बनाउने निर्णयसमेत गरेको छ। केही समयअघि पोखरामा पुगेर स्थगित गरिएको उक्त अभियान अब आगामी जेठ २१ गतेदेखि लमजुङबाट पुनः सुरू गरिने सापकोटाले जानकारी दिए।
बैठकमा माओवादी केन्द्रमा हालै एकीकृत भएका नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरू र नेपाः राष्ट्रिय पार्टीबाट आएका नेताहरूको भूमिकाबारे पनि छलफल गरिएको सापकोटाले बताए। एकीकरणपछिको संगठनात्मक व्यवस्थापन, जिम्मेवारी बाँडफाँड र रणनीतिक समन्वयका विषयमा पार्टीको कार्ययोजना स्पष्ट पारिने संकेत उनले गरे।
पार्टीभित्र देखिएको अनुशासन, अख्तियार दुरुपयोग, र नीति विपरीतका गतिविधिप्रति कठोर कदम चाल्ने तयारीमा रहेको माओवादी केन्द्रको अडानले सरकारभित्रको सम्बन्धमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।
