

काठमाडौँ, १६ जेठ २०८२। नेपालको विद्यमान सत्ता संरचना, सत्ताधारी दलहरू र यथास्थितिवादी राजनीतिको सशक्त आलोचना गर्दै एक नयाँ वैचारिक मोर्चाको घोषणा गरिएको छ। ‘अर्को मोर्चा – The Next Front’ नामक नवगठित मोर्चाले आज सार्वजनिक एक प्रेस विज्ञप्तिमार्फत जनयुद्ध, वैज्ञानिक समाजवाद र सुसंगठित जनक्रान्तिको यात्रालाई नयाँ उचाइमा लैजान प्रतिबद्धता जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “सर्वहारा, मजदुरहरू, उत्पीडित वर्ग र सशक्त आन्दोलनहरूलाई नयाँ दिशातर्फ डो-याउने अभियानलाई सुदृढ बनाउने हेतुले यो मोर्चा अगाडि ल्याइएको हो।”
मोर्चाका अध्यक्ष खेम थपलियाद्वारा हस्ताक्षरित चार बुँदे प्रेस विज्ञप्तिमा वर्तमान संसदीय व्यवस्थाको विफलता, क्रान्तिको आत्मसमर्पण र विचारहरूको भ्रष्टीकरणप्रति गम्भीर आलोचना गरिएको छ। माओवादी आन्दोलनको ऐतिहासिक भूमिकाको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, “क्रान्तिको परित्यागपछि चल्दै आएको यथास्थितिवादी राजनीति, अवसरवाद, संसदीय दलाली, विदेशी प्रभाव र विचारहीन गुटबन्दीहरूले नेपाली समाजलाई पुनः अराजकता र प्रतिक्रियातर्फ धकेलिरहेको छ।”
मोर्चाले विज्ञान, प्रविधि, विचार, दर्शन, राजनीति, अर्थशास्त्र, कला, साहित्य, ऐतिहासिक अनुभव र सामाजिक आवश्यकता समेटेर सशक्त, वैज्ञानिक र समाजवादी रूपान्तरणको पक्षमा बहस अघि बढाउने जनाएको छ। साथै, ‘अर्को मोर्चा’ले आफ्नो वैचारिक धारणा प्रष्ट पार्दै नेपाल र विश्वका उत्पीडित वर्गको पक्षमा सामूहिक चेतनाको नयाँ भूमि निर्माण गर्ने दिशातर्फ आफूहरू क्रियाशील रहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै नयाँ मोर्चाले “जनआन्दोलन, जनयुद्ध र जनक्रान्तिको बलिदानीको निरन्तरता”का रूपमा आफूलाई प्रस्तुत गर्ने बताइएको छ। साथै, संगठनले नयाँ पुस्ताका युवाहरू, वैज्ञानिक, श्रमिक वर्ग, लेखक, पत्रकार, कलाकार, र समाजका सबै क्रान्तिकारी सोच भएका व्यक्तिलाई यो अभियानमा सहकार्यको आह्वानसमेत गरेको छ।
