Skip

News Portal

  • टुँडिखेलमा गणतन्त्र दिवसको भव्य समारोह सम्पन्न

    दोलागिरि संवाददाता२०८२ जेठ १६
    ४४ पटक

    काठमाडौं, जेठ १५ — संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको १८ औं वार्षिकोत्सव देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। बिहीबार बिहान काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीपरिषद सदस्यहरू, सुरक्षा निकायका उच्च पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

    गणतन्त्र दिवस ०६२/०६३ को जनआन्दोलनको उपलब्धिको सम्झनामा हरेक वर्ष जेठ १५ गते मनाइँदै आएको हो। यही दिनबाट राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको औपचारिक सुरुआत भएको हो।

    सरकारको तर्फबाट आयोजित यस कार्यक्रममा नेपाली सेनाले विशेष परेड प्रदर्शन गरेको थियो भने विविध सांस्कृतिक झाँकी, राष्ट्रिय गीत संगीत, र ऐतिहासिक उपलब्धिहरूको झल्को दिने प्रस्तुति पनि देखाइएको थियो।

    यसै अवसरमा एमाले पार्टीले पनि काठमाडौंमा पृथक रूपमा विशेष कार्यक्रम गरी गणतन्त्र उत्सव मनाएको छ। प्रदेशहरू, जिल्ला कार्यालयहरू तथा विदेशस्थित नेपाली दूतावासहरूमा पनि कार्यक्रम सञ्चालन गरिएका छन्।

    गणतन्त्रको मूल्य र भावनाको रक्षा गरौं राष्ट्रपति पौडेलले समारोहमा सम्बोधन गर्दै गणतन्त्रको मूल्य, मर्म र जनअपेक्षाको रक्षा गर्न सबै राजनीतिक दल, राज्य संयन्त्र र जनतालाई आह्वान गरेका छन्। “गणतन्त्र कुनै दलको सम्पत्ति होइन, सम्पूर्ण नेपाली जनताको सपना र अधिकारको मूर्त रुप हो,” उनले भने।

    प्रधानमन्त्री ओलीले गणतन्त्रलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन्।

    सन्देशमूलक कार्यक्रमहरू गणतन्त्र दिवसको अवसरमा विभिन्न विद्यालय, सामाजिक संस्था र स्वयंसेवी समूहहरूले पनि प्रभातफेरी, सरसफाइ अभियान, रक्तदानजस्ता सामाजिक सन्देश बोकेका कार्यक्रमहरू सञ्चालन गरेका छन ।

    प्रतिकृया दिनुहोस्