Skip

News Portal

  • राेम्वस स्कुल स्थानान्तरण : विशेष छुट र छात्रवृत्तिसहित कक्षा ११ सञ्चालन हुने

    दोलागिरि संवाददाता२०८२ जेठ १६
    ३८ पटक

    भक्तपुर, जेष्ठ १५।

    आइएसओ प्रमाणित शिक्षालय रोम्वस सेकेण्डरी स्कूलले यस शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गर्ने भएको छ । भक्तपुर कमलविनायकको चोखाविनायकमा स्थानान्तरण गरिएको यस विद्यालयले व्यवस्थापन, मानविकी तथा कानून संकायमा अध्ययनका अवसर प्रदान गर्ने तयारी थालेको छ ।

    विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजुका अनुसार, चाँगुनारायण नगरपालिकाको कार्यपालिका तथा शिक्षा समितिको २०८१ साल चैत्र २८ गतेको निर्णयअनुसार विद्यालयलाई कक्षा ११ सञ्चालनको अनुमति प्राप्त भएको हो । उक्त जानकारी विद्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

    डा. कोजुले बताएअनुसार, “लामो समयको प्रयासपछि साविक भक्तपुर नगरपालिका–१० बाट स्थानान्तरण गर्दै चाँगुनारायण नगरपालिका–७ मा अब विद्यालय सञ्चालन हुनेछ ।” साथै, विद्यालयले आफ्नो ११ वर्षे शैक्षिक यात्रामा अत्याधुनिक भवन, खेलमैदान र शिक्षण संरचना निर्माण गरिसकेको जानकारी पनि गराइएको छ ।

    नयाँ शैक्षिक चरणको सुरुआतका अवसरमा विद्यालयले भर्ना हुने पहिलो ५० जना विद्यार्थीलाई ५० प्रतिशत शुल्क छुटको व्यवस्था गर्ने र विभिन्न संघसंस्था, विद्यालय तथा स्थानीय तहबाट सिफारिस भई आएका विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था मिलाउने बताइएको छ ।

    भक्तपुर जिल्लाबाट कक्षा १० उत्तीर्ण विद्यार्थीहरू उच्च शिक्षाका लागि अन्यत्र जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने लक्ष्यसहित रोम्वसले कक्षा ११ सञ्चालन गर्न लागेको हो । डा. कोजुले भने, “हामी विद्यार्थीहरूलाई सीप, प्रविधि र प्रतिस्पर्धी क्षमता दिँदै, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षा आफ्नै जिल्लाबाट उपलब्ध गराउने प्रतिवद्धतासहित अगाडि बढिरहेका छौं ।”

    रोम्वसले विभिन्न अन्तर्राष्ट्रिय विद्यालय र विश्वविद्यालयहरूसँग भगिनी सम्बन्ध स्थापना गरिरहेको र भावी दिनमा ग्लोबल शिक्षा सञ्जालमा विद्यालयलाई समावेश गराउने योजना रहेको बताइएको छ ।

    वि.सं. २०७० फागुन ७ गते औपचारिक रूपमा स्थापना भई २०७१ देखि कक्षा सञ्चालनमा आएको रोम्वसमा हालसम्म नर्सरीदेखि कक्षा १० सम्म ७०६ जना विद्यार्थी अध्ययनरत छन् । देशभरका ४७ जिल्लाका विद्यार्थीहरूले अध्ययन गर्ने यस स्कुललाई “सपना, संघर्ष र सफलताको सूत्र : शैक्षिक समृद्धिको यात्रा” भन्ने नारासहित शैक्षिक प्रतिष्ठानको रूपमा अगाडि बढाउने विद्यालयको योजना छ ।

     

    प्रतिकृया दिनुहोस्