
काठमाडौँ, १३ जेठ — नेपालको वाम राजनीतिमा एक पटक फेरि एकताको संकेत देखिएको छ। नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच सोमबार औपचारिक एकता हुने भएको छ।
नेपाल समाजवादी पार्टीले आइतबार पार्टीको औपचारिक बैठकमार्फत नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय लिएको हो। यो एकता कार्यक्रम सोमबार बिहान ११ः३० बजे ललितपुरको ग्वार्को स्थित कान्तिपुर ब्याङ्क्वेटमा आयोजना गरिएको छ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका अनुसार उक्त कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। नेताहरुको सम्बोधनसँगै एकता घोषणापत्र सार्वजनिक गरिने जनाइएको छ।
पछिल्लो समय बाम एकताको बहस फेरि सतहमा आएको बेला यो एकतालाई महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ। विशेषतः माओवादी आन्दोलनको पृष्ठभूमिबाट आएका दलहरूबीचको यो एकता आगामी दिनमा वाम गठबन्धनको पुनर्संरचनाको दिशामा अघि बढ्न सक्ने राजनीतिक विश्लेषकहरूको धारणा छ।
कार्यक्रममा दुबै पार्टीका नेताहरू, कार्यकर्ता, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
