News Portal

  • नरेश रञ्जित वाईसीएल बागमती प्रदेश अध्यक्ष चयन, ९९ सदस्यीय नयाँ समिति गठन

    दोलागिरि संवाददाता२०८२ जेठ ९
    १०४ पटक

    भक्तपुर, मध्यपुर थिमी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको बागमती प्रदेश नेतृत्वको बागडोर अब भक्तपुरले सम्हाल्ने भएको छ। हालै सम्पन्न पहिलो प्रदेश सम्मेलनको बन्द सत्रबाट भक्तपुरका नरेश रञ्जित सर्वसम्मत रूपमा प्रदेश अध्यक्ष चयन भएका छन्।

    रञ्जितको नेतृत्वमा ९९ सदस्यीय नयाँ प्रदेश कार्यसमिति गठन गरिएको छ। संगठनको उपाध्यक्षमा सुवास अधिकारी, रेशम तामाङ र सुनिता गिरी चयन भएका छन्। सचिव पदमा प्रदीप तामाङ (ङेमासङ) निर्वाचित भएका छन्।

    सहसचिवका रूपमा विष्णु नेगी, अर्जुन तामाङ, सुदीप केसी, विकास श्रेष्ठ, सनम महर्जन (जनजाति प्रतिनिधित्व) र प्रीति तामाङ (महिला प्रतिनिधित्व) चयन गरिएका छन्। संगठनको कोषाध्यक्षमा रोमी घले नियुक्त भएका छन्।

    रञ्जितको संगठनात्मक यात्राः

    नव निर्वाचित अध्यक्ष रञ्जित यसअघि वाईसीएलका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्जका रूपमा सक्रिय थिए। उनी हाल माओवादी केन्द्रको मध्यपुर थिमी नगर उपाध्यक्ष समेत हुन्। संगठन र राजनीति दुबैमा उनको लामो अनुभव र नेतृत्व क्षमताले अब प्रदेशभर वाईसीएललाई अझ सशक्त बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    सम्मेलनमा व्यापक सहभागिता र नेतृत्वको उपस्थिति

    बन्द सत्रमा माओवादी केन्द्रका वरिष्ठ नेताहरू हितमान शाक्य, हितबहादुर तामाङ, दिलीप प्रजापति र सूर्य सुवेदी ‘पथिक’ लगायतको उपस्थिति रहेको थियो। सम्मेलनको औपचारिक उद्घाटन माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सोमबार गरेका थिए।

    करीब ४०० भन्दा बढी प्रतिनिधिहरूको सहभागितामा सम्पन्न सम्मेलनले रामप्रसाद सापकोटा ‘दीपशिखा’ द्वारा प्रस्तुत प्यानललाई सर्वसम्मत रूपमा पारित गर्दै निर्वाचन आयोगमार्फत औपचारिक परिणाम सार्वजनिक गरेको हो।

    रञ्जितको प्रतिवद्धता : युवा र समाज रूपान्तरणको अग्रपंक्ति

    अध्यक्षमा चयन भएसँगै रञ्जितले संगठनलाई अझ सुदृढ बनाउने, युवाहरूलाई राजनीतिक चेतना र सामाजिक रूपान्तरणमा संलग्न गराउने दायित्व पुरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, वाईसीएल बागमती अब संगठन निर्माणसँगै वैचारिक स्पष्टता र सामाजिक हस्तक्षेपका कार्यक्रममार्फत जनस्तरमा पुग्ने लक्ष्यमा क्रियाशील हुनेछ।

    प्रतिकृया दिनुहोस्