Skip

News Portal

  • डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालि अब पब्लिक कम्पनीमा रूपान्तरण हुँदै

    दोलागिरि संवाददाता२०८२ जेठ ३
    १०८ पटक

    भक्तपुर, ३ जेठ २०८२ – भक्तपुरको सूर्यविनायक–८ डोलेश्वरस्थित डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालि अब पब्लिक कम्पनीमा रूपान्तरण हुँदैछ। कम्पनीले सर्वसाधारणको समेत स्वामित्व सुनिश्चित गर्न प्राथमिक सेयर (IPO) जारी गर्ने तयारी थालेको छ।

    यस सन्दर्भमा रिसोर्ट र सिटिजन्स क्यापिटल लिमिटेड बीच संस्थागत परामर्श सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा डोलेश्वर भिलेज रिसोर्टका अध्यक्ष रामनाथ मैनाली र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

    सम्झौता अनुसार सिटिजन्स क्यापिटलले रिसोर्टलाई प्रालिबाट पब्लिक कम्पनीमा रूपान्तरण गर्न आवश्यक सम्पूर्ण प्रक्रिया, नियामकीय अनुमति तथा सार्वजनिक निष्काशनको तयारीमा प्राविधिक सल्लाह दिनेछ।

    २०७६ सालदेखि सञ्चालनमा आएको डोलेश्वर भिलेज रिसोर्ट करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ। हाल रिसोर्टमा १५ कोठा सञ्चालनमा छन् भने कोठाको संख्या बढाएर ३५ पुर्याउने लक्ष्य लिइएको छ। साथै, स्वीमिङ पुल निर्माण पनि तीव्र गतिमा अगाडि बढाइएको छ, जसलाई हालको आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना छ।

    रिसोर्टमा ३ सय जनासम्म अटाउने क्षमता भएका तीनवटा सभा हलहरू समेत रहेका छन्, जसले विविध कार्यक्रम तथा सम्मेलनहरूको आयोजना सहज बनाउँछ।

    धार्मिक तथा प्राकृतिक पर्यटनको दृष्टिकोणले समेत यो रिसोर्ट विशेष आकर्षणको केन्द्र बनेको छ। केदारनाथको शिर मानिने प्रसिद्ध धार्मिक स्थल डोलेश्वर महादेव मन्दिर यहाँबाट मात्र २ सय मिटरको दूरीमा रहेको छ, जसले गर्दा धार्मिक पर्यटकहरूको पनि बाक्लो आगमन हुने गरेको छ।

    डोलेश्वर भिलेज रिसोर्टको यो कदमले नेपाली पर्यटन क्षेत्रको संस्थागत पारदर्शिता, जनसहभागिता र लगानी विस्तारको नयाँ ढोका खोल्ने विश्वास लिइएको छ।

     

    प्रतिकृया दिनुहोस्