News Portal

  • मखनटोल आगलागी निरीक्षणमा उपप्रमुख डंगोल, ग्यास कम्पनीहरूमा पनि अनुगमन गरिने घोषणा

    दोलागिरि संवाददाता२०८२ जेठ १
    १० पटक

    काठमाडौं, वैशाख ३१ — काठमाडौं महानगरपालिका वडा नं. २४ मखनटोलमा ग्यास सिलिन्डर विस्फोटबाट भएको भीषण आगलागीमा एक जनाको मृत्यु भएपछि सोमबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले घटनास्थलको निरीक्षण गरेकी छन्। आगलागीबाट चार वटा घरमा ठूलो क्षति पुगेको छ। उपप्रमुख डंगोलले क्षतिग्रस्त घर तथा प्रभावित परिवारहरूसँग भेट गरी सान्त्वना दिइन् र तत्काल राहत तथा सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन्।

    डंगोलले काठमाडौं महानगरपालिका नियमितरूपमा यस्तो प्रकारका जोखिमयुक्त क्षेत्रहरूको अनुगमन गरिरहेको जानकारी दिँदै अबदेखि ग्यास कम्पनीहरू तथा तिनका डिलरहरूमा पनि कडा अनुगमनको प्रक्रिया अघि बढाइने बताइन्। “नियमित अनुगमन हामीले गर्दै आएका छौं, तर अब ग्यास सिलिन्डर वितरण र भण्डारणको सुरक्षालाई थप कडाइका साथ हेरिनेछ। यसप्रकारको दुर्घटना दोहोरिन दिन सकिन्न,” डंगोलले भनिन्।

    स्थानीय बासिन्दाका अनुसार आगलागी आइतबार राति करीब ८ बजे ग्यास सिलिन्डर विस्फोटसँगै सुरु भएको थियो। आगो फैलिन थालेपछि स्थानीयहरू र दमकल टोलीले निकै प्रयास गरेर आगो नियन्त्रणमा लिएको थियो, तर त्यसअगाडि नै एक जना स्थानीयको ज्यान गएको थियो। अन्य केही व्यक्तिहरू घाइते भएको र उनीहरूको उपचार भइरहेको बताइएको छ।

    घटनास्थलमा पुगेकी महानगरको टोलीले क्षतिको प्रारम्भिक मूल्यांकन गरेको छ। डंगोलले पीडित परिवारलाई अस्थायी बसोबास र आवश्यक राहतको व्यवस्था तत्काल मिलाइने पनि जानकारी दिइन्। साथै, उनले यस घटनालाई ‘सावधानीपूर्वक नहेरिए ग्यासको लापरवाहीले कति ठूलो विपद् निम्त्याउन सक्छ भन्ने चेतावनी’ भएको बताइन्।

    महानगरपालिकाले आगलागीको कारण, जिम्मेवार पक्ष र सुरक्षामा चुक भएका पक्षबारे विस्तृत छानबिन गर्नसमेत प्रहरी र प्रशासनसँग समन्वय गरिरहेको जनाएको छ।

     

    प्रतिकृया दिनुहोस्