News Portal

  • प्रधानमन्त्री ओलीद्वारा ‘सिनेपा’ फिल्म स्टुडियोको शिलान्यास, ४२ रोपनीमा बन्ने अत्याधुनिक संरचना

    दोलागिरि संवाददाता२०८२ बैशाख ३०
    २ पटक

    काभ्रेपलाञ्चोक — प्रधानमन्त्री केपी शर्मा ओलीले बनेपा नगरपालिका–१० मा निर्माण हुन लागेको अत्याधुनिक इनडोर फिल्म स्टुडियो ‘सिनेपा’को शिलान्यास गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष समारोहमा उनले ४२ रोपनी क्षेत्रफलमा फैलिने उक्त स्टुडियोको औपचारिक शिलान्यास गरे।

    शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले नेपाली चलचित्र क्षेत्रमा आजको दिन ऐतिहासिक मोड भएको बताएका छन्। उनले फिल्म क्षेत्रको पूर्वाधार विकासमा ‘सिनेपा’ एक युगान्तकारी परियोजना हुने विश्वास व्यक्त गरे। “आजको दिन नेपाली फिल्म उद्योगका लागि कोशेढुंगा सावित हुनेछ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

    उनले स्टुडियो बन्ने स्थान प्राकृतिक रूपमा मनमोहक रहेको उल्लेख गर्दै ‘सिनेपा’ नाम नै अब एक सशक्त ब्रान्डमा रूपान्तरित भइसकेको बताए। विगतमा यस्ता कामहरू अघि नबढ्दा ढिलो भएको टिप्पणी गर्दै उनले वर्तमान सरकारद्वारा मात्र यो सम्भव भएको दाबी गरे।

    कार्यक्रममा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार फिल्म क्षेत्रको विकासमा पूर्ण सहयोगमा रहेको उल्लेख गर्दै ‘सिनेपा’ परियोजना फिल्मकर्मीहरूका लागि ऐतिहासिक अवसर हुने बताए। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सकारात्मक सोच र प्रतिबद्धतासहित अघि बढेमा जुनसुकै चुनौती पार गर्न सकिने धारणा व्यक्त गरे।

    ‘सिनेपा’ स्टुडियो बनेपा नगरपालिका–१० र १३ वडामा फैलिनेछ। कुल ३९ करोड रुपैयाँको लागतमा निर्माण हुने यो परियोजना आगामी वर्षभित्र सम्पन्न गरिने लक्ष्य छ। ठेक्का प्रक्रिया पूरा भइसकेको र निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढिरहेको जनाइएको छ।

     

    प्रतिकृया दिनुहोस्