

मध्यपुर थिमि, भक्तपुर – २०८२ बैशाख ३०
गएराति मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ निकोसेरा स्थित सडकछेउमा रहेको एक पुरानो गणेश मन्दिर बसको ठक्करबाट भग्नावशेष बनेको छ। दुर्घटना राति करिब १ बजेतिर भएको बताइएको छ।
बा.५ ख ३२१० नम्बरको बस, जुन स्थानीय एक घरअगाडि जोतिएको अवस्थामा राखिएको थियो, अनियन्त्रित भई सिधै मन्दिरमा ठोक्किएको हो। मन्दिरमा भएको क्षतिका कारण स्थानीयहरु आक्रोशित बनेका छन्।
बसका चालक भने दुर्घटनापछि फरार भएका छन्। महानगर प्रहरी वृत्त ठिमीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। प्रहरीले बसको नम्बरका आधारमा चालकको खोजी भइरहेको जानकारी दिएको छ।
स्थानीय बासिन्दाका अनुसार उक्त मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्थ्यो र प्रत्येक वर्ष यहाँ विशेष पूजा–अर्चना गरिँदै आएको थियो।
दुर्घटनाका थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। यस विषयमा कानुनी कारवाही अगाडि बढाउने तयारी भइरहेको छ।
