News Portal

  • भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर उपचारका लागि छुट्टै सघन उपचार इकाई सञ्चालन

    दोलागिरि संवाददाता२०८२ बैशाख २८
    २७ पटक

    काठमाडौं, वैशाख २८ – भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर पीडित बालबालिकाका लागि छुट्टै बाल चिकित्सा सघन उपचार इकाई (पेडियाट्रिक आइसीयू) सञ्चालनमा आएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एक विशेष कार्यक्रमका बीच उक्त इकाईको उद्घाटन गरे। मन्त्री पौडेलले बाल क्यान्सर उपचारलाई निःशुल्क बनाउने निर्णय गरेसँगै बालबालिकाका लागि छुट्टै आइसीयू वार्ड स्थापना गर्न निर्देशन दिएका थिए। उक्त निर्देशनअनुसार वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी गरिएको तयारी अब सफलतापूर्वक कार्यान्वयनमा आएको हो।

    उद्घाटन समारोहमा मन्त्री पौडेलले अब विदेशमा गएर उपचार गराउने प्रवृत्तिमा कमी ल्याई भक्तपुर क्यान्सर अस्पताललाई उपचारको नमुना केन्द्र बनाउने लक्ष्य लिइएको बताए। “बाल क्यान्सर उपचार निःशुल्क गर्दा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक स्रोतहरूबाटै व्यवस्थापन गरिएको छ,” मन्त्री पौडेलले भने, “अबका दिनमा विभिन्न किसिमका सेवा सुधार र विस्तार गर्दा समेत राज्यलाई थप दायित्व नपर्ने नीति अपनाइएको छ।”

    उनले आफ्नो पहिलो निर्णय नै क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गर्ने रहेको स्मरण गराउँदै आगामी बजेटमा पनि क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

    नयाँ थपिएको इकाईमा बालबालिकाको लागि चार शय्याको आइसीयू, चार शय्याको डे केयर, र सात शय्याको सामान्य वार्ड रहने जानकारी निमित्त कार्यकारी निर्देशक डा. उज्वल चालिसेले दिए।

    अस्पतालको सेवा स्तर अभिवृद्धि र पूर्वाधार विस्तारका लागि मन्त्री पौडेलले विशेष प्राथमिकता दिएर योजना अघि बढाइरहेको उनका सचिवालयले जनाएको छ।

    प्रतिकृया दिनुहोस्