
मध्यपुर थिमी, भक्तपुर – लागू औषध दुरुपयोग, आत्महत्या तथा सामाजिक विकृतिहरू विरुद्ध शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले मध्यपुर थिमी नगरपालिका भक्तपुर , काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी, प्रहरी वृत्त थिमी तथा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) टेकबहादुर तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित रहे। कार्यक्रममा लागू औषध विरुद्धको महाअभियान २०८१, लागू औषध दुर्ब्यसन रहित घर अभियान, तथा आत्महत्या न्यूनीकरण–२०८२ शीर्षकमा जनचेतनामूलक सन्देश प्रवाह गरियो।
कार्यक्रममा बोल्दै AIG तामाङले लागू औषधको बढ्दो प्रचलन र त्यसले समाजमा पारेको गम्भीर असरको चर्चा गर्दै प्रहरी मात्र होइन, सम्पूर्ण समुदाय मिलेर यसको विरुद्धमा खडा हुनुपर्ने आवश्यकता औंल्याए। उनले आत्महत्याका कारणहरू, विशेष गरी युवापुस्तामा देखिएका मानसिक तनाव र सामाजिक उपेक्षाको सवालमा सामूहिक संवाद र हस्तक्षेप आवश्यक रहेको बताए।
नगर प्रमुख श्रेष्ठले लागू औषधविरुद्धको यो अभियानलाई नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै सामाजिक सचेतना वृद्धि गर्न विद्यालय, टोल विकास संस्था र आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, सामाजिक अभियन्ता, महिला समूह तथा प्रहरीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले जनस्तरमा सचेतना फैलाउन अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
समापनमा आयोजक संस्थाहरूले संयुक्त रुपमा लागू औषध, आत्महत्या र सामाजिक अपराध विरुद्ध सचेतना फैलाउने बृहत अभियान आगामी दिनहरूमा पनि सञ्चालन गरिने जानकारी दिएका थिए।