News Portal

  • रेशम चौधरीको पक्राउ प्रकरणमा सांसद लालवीर चौधरीको चेतावनी : “जवाफ नआए सरकार छाड्ने

    दोलागिरि संवाददाता२०८२ बैशाख २२
    १७६ पटक

    काठमाडौं, वैशाख २२ – नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको स्पष्ट धारणा माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा उपस्थित भई जवाफ दिनुपर्ने अडान राखेका हुन्।

    “फर्जी पत्रका आधारमा रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार कारागार पुर्‍याइयो,” उनले भने, “सर्वोच्च अदालतले समेत उक्त पत्रलाई फर्जी ठहर गरिसकेको अवस्थामा सरकारले किन मौन छ? सदनमा जवाफ आउनुपर्छ।”

    सांसद चौधरीले सरकार गम्भीर नभए आफूहरू गठबन्धन सरकार छाड्न बाध्य हुने चेतावनीसमेत दिए। उनले यस प्रकरणलाई राज्यद्वारा गरिएको अन्यायको संज्ञा दिँदै न्यायिक प्रक्रियाको अवहेलनासमेत भएको आरोप लगाए।

    उनको भनाइले नागरिक उन्मुक्ति पार्टी सरकारसँगको सम्बन्ध पुनः समीक्षा गर्ने संकेतसमेत देखिएको छ। रेशम चौधरी टीकापुर घटनापछि लामो समय जेल जीवन बिताएपछि सर्वोच्चको आदेशमा रिहा भएका थिए। तर हाल पुनः विवादास्पद शैलीमा पक्राउ गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

     

    प्रतिकृया दिनुहोस्