
काठमाडौं, वैशाख १८ – स्वास्थ्य सेवाको गुणस्तर र पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यका साथ ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरेको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आज एक विशेष समारोहबीच ब्लड बैंकको औपचारिक समुद्घाटन गरिएको हो।
हस्पिटल परिसरमै स्थापना गरिएको रक्त सञ्चार केन्द्रको समुद्घाटन ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, संस्थापक तथा संरक्षक डा. भोला रिजाल र पूर्व अध्यक्ष उद्धव पौडेलले संयुक्त रूपमा रिबन काटी उद्घाटन गर्नुभयो।
समारोहमा ॐ हस्पिटलका संचालकहरू, शेयधनीहरू, वरिष्ठ चिकित्सकहरू, कर्मचारी युनियनका पदाधिकारीहरू तथा सदस्यहरू लगायत अस्पतालका कर्मचारीहरूको उपस्थिति थियो।
उक्त रक्त सञ्चार केन्द्रले आकस्मिक सेवामा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिइएको छ। यसले उपचार प्रक्रियालाई अझ छरितो, भरपर्दो र आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। हाललाई आवश्यक रगत संकलन, रक्त तत्वहरूको आपूर्ति र रगतसम्बन्धी आवश्यक परीक्षणहरू सहज बनाउने व्यवस्था मिलाइएको छ। अस्पतालले भविष्यमा सेवा विस्तार गर्दै ब्लड बैंकलाई स्तरोन्नति गर्दै लैजाने योजना बनाएको जनाएको छ।
हस्पिटल व्यवस्थापनले यस्तो केन्द्र स्थापना गर्नु हस्पिटलको सेवा विस्तार र गुणस्तर वृद्धिको दिशामा उठाइएको महत्वपूर्ण कदम भएको बताएको छ।