भक्तपुर, सिपाडोल — भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरमा आज अक्षय तृतीयाको अवसरमा बिहानैदेखि दर्शनार्थीहरूको उल्लेख्य भीड लागेको छ। अन्य दिनहरूमा पश्चिम ढोकाबाट मात्र दर्शन गर्ने व्यवस्था गरिँदै आएको मन्दिरमा आज भने विशेष दिनको अवसरमा चारै ढोका सर्वसाधारणका लागि खुला गरिएको छ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव हरिशरण बस्नतका अनुसार आज बिहान ४ बजेदेखि मन्दिरका सबै प्रवेशद्वार खोलिएको हो। “भक्तजनहरूले मन्दिरको चारै ढोकाबाट भित्र प्रवेश गरी आफैँ पूजा र दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ,” उनले बताए।
समितिले वर्षमा जम्मा तीन दिन—अक्षय तृतीया, भदौ ६ गते (केदारनाथको शिर घोषणा गरिएको दिन), र महाशिवरात्रिमा—मात्रै भक्तजनलाई मन्दिरभित्र प्रवेश गराई पूजा गर्न दिने विशेष व्यवस्था गर्दै आएको छ।
आजको मेलामा भक्तजनको भीड व्यवस्थित गर्न ४० जना स्वयंसेवक परिचालित गरिएको छ। व्यवस्थापकहरूले भक्तजनहरूलाई करिब ३० मिनेटभित्रै दर्शन र पूजा सक्ने गरी लाइन व्यवस्थापन गरिएको जानकारी दिएका छन्।
मन्दिरको पवित्रता र ऐतिहासिक महत्त्वका कारण आजको दिन विशेष मानिँदै आएको छ। भक्तजनहरूले आजको दिनमा पूजा गरेमा अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।