News Portal

  • नेताहरूकाे त्रुटिकाे मूल्य नागरिकले चुकाइरहेका छन् : विप्लव

    दोलागिरि संवाददाता२०८२ बैशाख १४
    १२ पटक

    काठमाडौँ, १४ वैशाख। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेताहरूको त्रुटिको मूल्य नागरिकहरूले चुकाउनुपर्ने विडम्बना अझै कायम रहेको बताएका छन्।

    आइतबार ललितपुरको कुपण्डोलमा आयोजित ‘सम्प्रभुता सम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै महासचिव चन्दले एमसीसी सम्झौता कुर्सी र सत्ता प्राप्तिको माध्यम बनेको आरोप लगाए। उनले भने, “आज पनि के देखिन्छ भने, एमसीसी सम्झौता कुर्सी र सत्ताका लागि मात्र भइरहेको छ। कुर्सीसँग सार्वभौमिकताको लेनदेन गर्दा सुगौली सन्धिदेखि लिएर एमसीसीसम्म उस्तै अवस्था दोहोरिएको छ। नेताहरूले गरेका गल्तीहरूको मूल्य चाहिँ सधैँ नागरिकले नै तिर्नु परेको विडम्बना आजसम्म पनि हटेको छैन।”

    महासचिव चन्दले नेपालको स्वाधीनताको वास्तविक अवस्था हालैका राजनीतिक गतिविधिहरूले प्रस्ट पारेको पनि बताए। विशेष गरी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणलाई उनले नेपाली सार्वभौमिकताको एउटा “सानो आँखीझ्याल” भएको टिप्पणी गरे। उनले भने, “हाम्रो स्वाधीनता कस्तो छ भन्ने कुरा शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट छर्लङ्ग हुन्छ। केही समय अघि केपी ओली पनि थाइल्यान्ड गएका थिए। अहिले बाबुराम भट्टराई भारत गएका छन्। नेपालीहरू आज त्यहीँ पर्खेर बस्नु परेको अवस्था छ। शासक, राजनीतिज्ञ, बौद्धिक वर्ग र सञ्चारकर्मीहरूको मानसिकता यिनै भ्रमणहरूले उजागर गर्छ।”

    उनले वर्तमान राजनीतिक बहसलाई पनि गलत दिशामा गइरहेको बताए। चन्दका अनुसार अहिले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्छ कि रहन्छ भन्नेमा मात्र बहस केन्द्रित हुनु गलत हो। “सवाल सरकार रहन्छ या ढल्छ भन्ने होइन, मुलुकको सार्वभौमिकता, स्वाधीनता र जनताको हित कसरी सुनिश्चित हुन्छ भन्ने हुनुपर्थ्यो,” उनले जोड दिए।

    कार्यक्रममा अन्य वक्ताहरूले पनि नेपालको राष्ट्रिय स्वाधीनता र सम्प्रभुतामाथि देखिएको चुनौतीमाथि गम्भीर चिन्ता व्यक्त गरेका थिए।

     

    प्रतिकृया दिनुहोस्