Skip

News Portal

  • भक्तपुरमा विश्व औलो दिवस विभिन्न चेतनामूलक कार्यक्रमसहित सम्पन्न

    दोलागिरि संवाददाता२०८२ बैशाख १३
    ३९ पटक

    भक्तपुर, वैशाख १३ ।
    विश्व औलो (मलेरिया) दिवस शुक्रबार भक्तपुर सहित देशभर विविध जनचेतनामूलक कार्यक्रमहरूमार्फत मनाइएको छ। “औलो हटाउन तयार छौँ” भन्ने नारासहित मनाइएको यस वर्षको औलो दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरले सञ्चारकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरीमछनाइएको छ ।

    भक्तपुर जनस्वास्थ्य  कार्यालय प्रमुख अन्जना    खड्काका अनुसार नेपालले सन् २०२५ सम्म औलो उन्मूलन गर्ने लक्ष्य राखेपनि त्यो पूरा हुन नसकेपछि सन् २०३० भित्र औलो मुक्त राष्ट्र बन्ने लक्ष्यसहित नयाँ कार्ययोजना अघि सारिएको हो।

    उनले भनिन्, “सक्रिय खोज, परीक्षण र उपचारको माध्यमबाट हामीले संक्रमणको श्रृंखला तोड्नुपर्ने आवश्यकता छ।”

    विशेषज्ञहरूका अनुसार औलो रोग संक्रमित पोथी ‘एनोफिलिज’ जातको लामखुट्टेको टोकाइबाट सर्छ। यस्ता लामखुट्टेहरू प्रायः फोहर तथा स्थिर पानीमा पाइन्छन्।

    विश्व स्वास्थ्य संगठन (WHO) का तथ्यांक अनुसार हाल हरेक वर्ष विश्वभर करिब ५० हजार मानिस औलोबाट प्रभावित हुन्छन्, जसमा झन्डै २७ प्रतिशतको मृत्यु हुने गरेको छ।

    औलोका कारण मृत्यु हुनेहरूमा प्रायः पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिला बढी जोखिममा पर्ने समूहमा पर्दछन्। सन् २०१६ मा मात्रै ९१ देशमा २१६ मिलियन मानिस औलोबाट संक्रमित भएका थिए भने करिब ४ लाख ४५ हजारले ज्यान गुमाएका थिए।

    नेपालमा सन् २०२४ मा ५४१ जनामा औलो संक्रमण पुष्टि भएको थियो। खुला सिमाना भएको कारण नेपालमा देखिने संक्रमणको करिब ४५ प्रतिशत केस भारतबाट भित्रिएको देखिन्छ।

    नेपालमा औलो फैलाउने दुई प्रमुख परजीवी—प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स पाइन्छन्, जसमा फाल्सिपेरम जन्य औलो अधिक घातक मानिन्छ।

    यो रोग मुख्यतः वर्षायाम सुरु भएदेखि देखा पर्न थाल्ने गर्छ, जुन अप्रिलदेखि शुरू भएर जुलाईदेखि नोभेम्बरसम्म उच्च विन्दुमा पुग्ने बताइन्छ।

    कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले औलोविरुद्धको अभियानलाई प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका थिए।

     

    प्रतिकृया दिनुहोस्