
९ औं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव भब्यरुपमा सम्पन भएको छ । उक्त मेला ११ दिनसम्म विविध कार्यक्रमहरूसहित भव्य रूपमा चलेको थियो । स्थानीय उत्पादनको प्रदर्शनी, सांगीतिक प्रस्तुतिहरू, नृत्य प्रतियोगिता, मनोरञ्जनका विविध कार्यक्रमहरू लगायतका आकर्षणले महोत्सवलाई जीवन्त बनाएको थियो। तीन लाखभन्दा बढी दर्शकहरूको सहभागिता रहेको यस महोत्सवले भक्तपुरको सांस्कृतिक र पर्यटन क्षेत्रलाई थप उचाइमा पु¥याएको आयोजकहरूले जनाएका छन्।
समापन समारोहमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले महोत्सवले उपभोक्ता र व्यवसायीलाई एउटै थलोमा जोड्दै दुवै पक्षलाई लाभ पुर्याउने काम गरेको बताए। उनले उपभोक्ता र व्यवसायीलाई एउटै रथका दुई पाङ्ग्राका रूपमा तुलना गर्दै उनीहरूका अधिकारको संरक्षण गर्दै अगाडि बढ्न स्थानीय सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। महोत्सव अन्तर्गतको नृत्य प्रतियोगितामा पूर्णिमा बिकले पहिलो स्थान हासिल गर्दै नगद ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् भने रतिस गिरी दोस्रो स्थानमा रहँदै २० हजार र सागर लामा तेस्रो स्थानमा परेर १० हजार रुपैयाँसहित पुरस्कृत भए।
संगीत क्षेत्रमा योगदान पु¥याउँदै आएका संगीतकार सुवासचन्द्र ढुंगेललाई सम्मानपत्र, खादा र नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। वैशाख ८ गते सोमबार साँझ आयोजित विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायकहरू जी बब, मिस्टर डी र कमल खत्रीले आफ्नो प्रस्तुति दिएका थिए। उक्त कार्यक्रम साँझ ४:३० बजे सुरु भएको थियो भने प्रवेश शुल्क रु. १०० निर्धारण गरिएको थियो।
नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजाले महोत्सवले आफ्ना उद्देश्यहरू पूरा गर्दै भक्तपुरलाई देशव्यापी तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल भएको बताए। आगामी वर्षहरूमा पनि महोत्सवलाई निरन्तरता दिन आवश्यक रहेकोमा उनले जोड दिए।
आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार महोत्सवले भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमस्थलको रूपमा चिनाउन सघाएको छ। २०७२ सालदेखि सुरु भएको यो महोत्सव मध्यपुर ब्वाइज ब्याण्डको सहकार्यमा निरन्तरता पाइरहेको छ।
व्यापार, संस्कृति, पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन मात्र नभई समग्र नगरको ऊर्जा र पहिचान झल्काउने माध्यमको रूपमा यस महोत्सवले आफूलाई प्रमाणित गरेको आयोजकहरूको भनाइ छ।