
चितवन, भरतपुर ।
भरतपुर महानगरपालिका हुँदै निर्माण गरिएको ६ लेनको पुलचोक–गोन्द्राङ सडक खण्डको उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सडकको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललगायतको उपस्थिति रहेको थियो। विशेष उल्लेखनीय कुरा के रह्यो भने यस सडकको शिलान्यास समारोहमा अनुपस्थित रहेकी मेयर दाहाल उद्घाटन कार्यक्रममा भने सहभागी भइन्।
स्मरण रहोस्, प्रधानमन्त्री ओलीको कार्यकालमा २०७७ साल माघ १७ गते उक्त सडकको शिलान्यास गरिएको थियो। सो अवसरमा मेयर दाहाल अनुपस्थित रहेकी थिइन्, जसलाई लिएर ओलीले हल्का व्यंग्य गर्दै भनेका थिए, “मेयर साहेब, यता नआएर पिकनिक खान जानु भएछ।”
झण्डै १ अर्ब १३ करोड रुपैयाँको लागतमा सम्पन्न भएको सो सडकको दुबै किनारमा आधुनिक सडक बत्ती जडान भइसकेको छ। ५० मिटर चौडाइ भएको ६ लेनको यो सडकमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ। सडकको बीचमा ३ देखि ४ मिटर चौडाइको मेडियन राखिएको छ भने मुख्य सडकको छेउमा ढल निकासको व्यवस्था गरिएको छ। त्यसपछि ५.५ देखि ६ मिटर चौडाइको सर्भिस लेनसमेत बनाइएको छ।
यो सडक भरतपुर महानगरको सहर विकासको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको छ, जसले भौतिक पूर्वाधार, ट्राफिक व्यवस्थापन र समग्र सहर सौन्दर्यीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।