

काठमाडौं । भक्तपुरमा ऐतिहासिक बिस्का: जात्रा आज साँझ विधिवत रूपमा सम्पन्न हुँदैछ। गत चैत २७ गतेदेखि सुरु भएको आठ रात नौ दिन लामो यो जात्रा आज बिहान तालाक्वा टोलमा सम्पन्न ल्हाःमरु योसीं ढाल्ने परम्परासँगै अन्तिम चरणमा पुगेको हो।
साँझतिर गःहिटीबाट तानिने भैरव र भद्रकालीको रथ टौमढी पुर्याएपछि यो वर्षको बिस्का: जात्रा औपचारिक रूपमा समापन हुनेछ।
उल्लेखनीय छ कि उपत्यकाका अधिकांश पर्व चन्द्रमाको गतिमा आधारित भए पनि बिस्का: जात्रा भने सूर्यको गति अनुसार मनाइन्छ। त्यसैले हरेक वर्ष चैत्र २७ वा २८ गते सुरु भएर वैशाख ५ गते सम्पन्न हुने परम्परा रहिआएको छ।
भक्तपुरको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा गाँसिएको यो जात्रा विशेष गरी रथयात्रा, देवदेवीहरूको प्रतिस्थापन, ल्हाःमरु युद्ध, लोकसांस्कृतिक प्रस्तुतिहरू र स्थानीय सहभागिताका कारण प्रसिद्ध छ।
यस वर्ष पनि लाखौं भक्तजन र पर्यटकको सहभागिता रहेको जात्रा उल्लासपूर्वक सम्पन्न भएको छ।