

मध्यपुर ठिमी, बोडे — ग्ल्याडस्टोन एकेडेमी स्काउट ट्रुपले यही चैत्र २२ गतेदेखि २४ गतेसम्म दुई रात तीन दिने आवासीय स्काउट क्याम्प सफलता साथ सम्पन्न गरेको छ। विद्यालयका स्काउट मास्टर तथा राष्ट्रिय स्काउट ट्रेनर भुवनचरण श्रेष्ठको संयोजकत्वमा सम्पन्न उक्त क्याम्पमा ३० जना स्काउट विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
क्याम्प सुर्यविनायक नगरपालिका–१ स्थित कुलमाया भगवती माध्यमिक विद्यालय र विन्दवासीनी मन्दिर परिसरमा सञ्चालन गरिएको थियो। “गरेर सिक” (Learning by Doing) भन्ने स्काउटको विश्वव्यापी सिद्धान्तलाई आत्मसात गर्दै आयोजना गरिएको यो क्याम्प स्काउटिङमार्फत अनुशासन, नेतृत्व विकास, आत्मनिर्भरता र सेवा भावना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। क्याम्पको उद्घाटन चैत्र २२ गते शुक्रबार विद्यालयका स्काउट मास्टर तथा क्याम्प चिफ भुवनचरण श्रेष्ठ र स्काउट मास्टर विष्णु श्रेष्ठले संयुक्त रूपमा स्काउट र राष्ट्रिय झण्डा फहराएर गर्नुभएको थियो।
क्याम्पको दोस्रो दिन (चैत्र २३ गते शनिबार) स्काउटहरू साइन हाइक गर्दै विन्दवासीनी मन्दिर परिसरमा पुगेका थिए जहाँ दिनभरि विभिन्न सिर्जनात्मक तथा चुनौतीपूर्ण गतिविधिहरू जस्तै फ्री फल, कमान्डो ब्रिज, क्याटरपिलर वाल्क, माउस ट्र्यापिङ र समूहगत खेलहरू सञ्चालन गरिए। साँझको समयमा आयोजित क्याम्प फायर कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, कविता र स्किटमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दै मनोरञ्जन लिएका थिए।
क्याम्पको समापन कार्यक्रम चैत्र २४ गते आइतबार बिहान सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक तथा स्काउट संरक्षक विनोद कुमार कोइरालाले स्काउटिङले बालबालिकामा सकारात्मक सोच, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने बताउँदै सहभागी विद्यार्थीहरूलाई अझ सक्रिय र अनुशासित बन्न प्रेरणा प्रदान गर्नुभयो।
समापन समारोहमा कुलमाया भगवती माविका स्काउट मास्टर तथा शिक्षक प्रतिनिधिहरू, युनिफाइड क्र्युका रोभर रेन्जरहरू, सहायक स्काउट मास्टर कवि थापाश्रेष्ठ, सहायक प्रधानाध्यापक विनोद भट्टराई, एक्जिक्युटिभ इन्चार्ज प्रदीप श्रेष्ठ तथा अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको उपस्थिति रहेको थियो।
विद्यालयका स्काउट मास्टर भुवनचरण श्रेष्ठले आगामी दिनमा यस्ता क्याम्पहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।