News Portal

  • विदेशी शक्तिको उक्साहटमा गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको छ : महासचिव विप्लव

    दोलागिरि संवाददाता२०८१ चैत्र १४
    ११ पटक

    काठमाडौं, चैत्र १५ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विदेशी शक्तिको उक्साहटमा गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका छन्। समाजवादी मोर्चाद्वारा आयोजित शक्ति प्रदर्शन सभामा उनले संविधान संशोधन आवश्यक रहेको र जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई जोगाउनुपर्ने बताए।

    महासचिव चन्दले केही प्रतिगामी शक्तिहरू गणतन्त्रलाई असफल बनाउन राजतन्त्र पुनःस्थापना गर्ने प्रयासमा लागेको आरोप लगाए। उनले भने, “नेपाली जनताले सामन्तवादी र अधिनायकवादी प्रवृत्तिलाई पराजित गरिसकेका छन्। अहिले विदेशी शक्तिको उक्साहटमा राजतन्त्र फर्काउने प्रयास भइरहेको छ, जुन नेपाली जनताले स्वीकार गर्ने छैनन्।”

    उनले वर्तमान व्यवस्था पूँजीवादी शक्तिहरूको कब्जामा परेको बताउँदै, शोषणको अन्त्यका लागि क्रान्तिकारी परिवर्तन आवश्यक रहेको धारणा राखे। “हामीलाई कुनै प्रभुको खाँचो छैन, हामी स्वतन्त्र र जनमुखी व्यवस्था चाहन्छौँ,” उनले थपे।

     

    चन्दले अढाई सय वर्ष शासन गरेको राजतन्त्रले जनताको हितमा केही नगरेको उल्लेख गर्दै भने, पञ्चायतकालमा अभिव्यक्ति स्वतन्त्रता थिएन, किसान, दलित, कमैयाहरू दमनमा थिए। इतिहासबाट पाठ नलिएर फेरि राजतन्त्र फर्काउने सपना देख्नु बेकार छ।”

    उनले राजतन्त्र पुनःस्थापनाको प्रयास विफल पार्न जनतालाई सचेत रहन आग्रह गरे।

     

    प्रतिकृया दिनुहोस्