News Portal

  • भक्तपुरमा क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयको २६औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८१ चैत्र २
    २४० पटक

    भक्तपुर— चाँगुनारायण नगरपालिका-६ स्थित क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो २६औं वार्षिकोत्सव भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ। भक्तपुरको उत्तरपूर्वी भेगमा उत्कृष्ट शैक्षिक संस्था बनिसकेको यस विद्यालयले गुणस्तरीय शिक्षाका साथै संस्कारयुक्त शिक्षालाई प्रवर्द्धन गर्दै अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल हुँदै आएको छ।

    चैत्र २ गते, शनिबार, भत्केपाटीस्थित ख्वपः बैंक्वेटमा आयोजना गरिएको वार्षिकोत्सवलाई विशेष बनाउन विद्यालयले ‘संस्कारसहितको शिक्षा’ विषयक अभिभावकीय शिक्षा कार्यक्रमसमेत समेटेको थियो। कार्यक्रमका प्रमुख वक्ता मनोवैज्ञानिक परामर्शदाता डा. रविन कटवालले बालबालिकाको असल हेरचाह, अनुशासन, मानसिक स्वास्थ्य तथा सकारात्मक अभिभावकीय भूमिकाका विषयमा प्रशिक्षण दिएका थिए। अभिभावकहरूले यस कार्यक्रमलाई निकै प्रभावकारी अनुभव गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि, राष्ट्रगानका रचनाकार प्रदीप कुमार राई ‘व्याकुल माइला’ले विद्यार्थीहरूलाई राष्ट्रप्रेमको भावनाले प्रेरित हुन आग्रह गर्दै, देशको समृद्धि र उज्ज्वल भविष्यका लागि शिक्षाको महत्त्वबारे प्रकाश पारे। उनले गत वर्षका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै सफलता प्राप्त गर्न निरन्तर मिहिनेत गर्न प्रेरित गरे।विद्यालयको समर्पित शिक्षण टोलीका सदस्य शिक्षिका अनिता थापालाई नियमित शिक्षकको सम्मान प्रदान गरिएको थियो। साथै, एसईई २०८० का विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो।

    कार्यक्रममा नेशनल प्याब्सन केन्द्रीय समितिका अध्यक्ष सुवास न्यौपाने, वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, महासचिव प्रकाश चन्द्र खड्का, काठमाडौं अध्यक्ष अमृत खड्का, भक्तपुर अध्यक्ष संजय खड्का लगायत शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो। विद्यार्थीहरूले नृत्य, गायन तथा अन्य सांस्कृतिक प्रस्तुति पस्कँदै कार्यक्रममा मनोरञ्जन थपेका थिए। यसैक्रममा, विद्यालयका संस्थापक प्रिन्सिपल जिबी खड्काले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भविष्यका योजनाहरू सार्वजनिक गरे।

    शिक्षा, संस्कार र सिर्जनशीलतालाई जोड्दै अघि बढिरहेको क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयले अभिभावक, विद्यार्थी र शिक्षकबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्