News Portal

  • साइनिङ्ग सेकन्डरी स्कूलको ३२औं अभिभावक दिवस सम्पन्न

    दोलागिरि संवाददाता२०८१ चैत्र २
    २९८ पटक

    भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका–५, छालिङ पकुनेपाटीस्थित साइनिङ्ग सेकन्डरी स्कूलको ३२औं अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।

    शनिबार आयोजित सो कार्यक्रममा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम समेत समावेश थियो। कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सचिव प्रेम सुवालले गरेका थिए।

    एसईई उत्तीर्ण विद्यार्थी सम्मान र शिक्षक तालिमको आवश्यकता

    कार्यक्रममा सचिव सुवालले एसईई २०८० उत्तीर्ण विद्यार्थीहरूलाई कदर पत्र प्रदान गरे। साथै, विद्यालयको स्मारिका विमोचन गर्दै शिक्षकहरूको तालिम आवश्यक रहेकोमा जोड दिए। शिक्षकहरूलाई तहगत रूपमा तालिम तथा अभिभावक अभिमुखीकरण गराउनु पर्ने बताउँदै नयाँ पुस्ता हुर्काउन अभिभावकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

    उत्कृष्ट शिक्षक र अभिभावक सम्मान

    विद्यालयले उत्कृष्ट अभिभावकलाई कदर पत्रद्वारा सम्मान गर्‍यो। साथै, उत्कृष्ट शिक्षक पुरस्कार अन्तर्गत सुनिता ह्यौमिखा, सुस्मिता पुरी, र सुरज श्रेष्ठ सम्मानित भए।

    स्थानीय सरकारको शिक्षा क्षेत्रमा प्राथमिकता

    चाँगुनारायण नगरपालिका वडा नं. ३ का अध्यक्ष श्यामसुन्दर धिमालले शिक्षामा बढ्दो खाडललाई पुर्नुपर्नेमा जोड दिए। स्थानीय सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने भन्दै त्यसका लागि नीति आवश्यक रहेको बताए।

    विद्यालयको उद्देश्य र शिक्षण प्रविधि

    विद्यालय सञ्चालक विक्रम धुकुछुका अनुसार साइनिङ्ग स्कूल भक्तपुरको उत्तरपूर्वी क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हो। उनले विद्यालयले शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको क्षमता अभिवृद्धि गरिरहेको जानकारी दिए।

    बालमैत्री र सिकाइमैत्री वातावरण

    विद्यालयकी प्रिन्सिपल लक्ष्मी खाताखोले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न शैक्षणिक गतिविधिहरू सञ्चालन भइरहेको बताइन्। उनले बालमैत्री र सिकाइमैत्री वातावरण निर्माणमा विद्यालय अग्रसर रहेको जानकारी दिइन्।

    विशिष्ट व्यक्तित्वहरूको उपस्थिति

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर फोजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, उत्प्रेरक तुल्सीहरि प्रजापति, अभिभावक तथा विद्यार्थीहरूले विद्यालयका गतिविधिबारे आफ्ना धारणा राखेका थिए।

     

    प्रतिकृया दिनुहोस्