News Portal

  • कालिकोटमा योगी नरहरिनाथको १११औं जन्मोत्सव भव्य रूपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८१ फाल्गुण २०
    ३४ पटक

    कालिकोट । योगी नरहरिनाथको १११औं जन्मोत्सव कालिकोटको रहगाडमा विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। शनिबारदेखि सुरु भएको चारदिने महोत्सव अन्तर्गत स्थानीय कला, संस्कृति, भेषभूषा तथा देउडा खेल प्रदर्शन गरिएको छ।

    जन्मोत्सवकै अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेत र काठमाडौंमा विचार गोष्ठी तथा पुस्तक विमोचन कार्यक्रम पनि आयोजना गरियो। कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीका अनुसार योगी नरहरिनाथको योगदानबारे चर्चा गर्न कर्णाली र काठमाडौंबाट विभिन्न विद्वान तथा अनुयायी सहभागी भएका थिए।

    कालिकोटमा आयोजना भएको महोत्सव उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले योगी नरहरिनाथ जन्मेको क्षेत्रलाई सडक सञ्जालमा जोड्ने प्रतिबद्धता व्यक्त गरे। साथै, खुलालु-रामारोशन-बडिमालिका पर्यटकीय सडक तथा पदमार्ग, रहगाडमा बेलिब्रिज निर्माण र कोटबाडा विमानस्थल सञ्चालनका विषयमा सरकार गम्भीर रहेको बताए।

    त्यस्तै, प्रदेशसभा सदस्य तथा कांग्रेस संसदीय दलका सचेतक हिक्मतबहादुर विष्टले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरे। साथै, खुलालु-कोटवाडा-सान्नी-रास्कोट हुँदै लैफु सडक योजनामा थप बजेट विनियोजन गर्न आग्रह गरे।

    योगी नरहरिनाथको जीवन यात्रा १९७१ साल फागुन १७ गते कालिकोटको लालुस्थित चाखा भडारीवाडामा बलवीर सिंह थापाका रूपमा जन्मिएका योगी नरहरिनाथले योग र साधनाको माध्यमबाट समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेले। २०५१ साल फागुन १४ गते काठमाडौंको मृगस्थलीमा उनको निधन भएको थियो।

    कालिकोटमा सात वर्षदेखि निरन्तर रूपमा गाउँपालिकाको संयोजनमा योगी नरहरिनाथको जन्मोत्सव मनाइँदै आएको छ।

    प्रतिकृया दिनुहोस्