

फागुन १५, भक्तपुर – चाँगुनारायण नगरपालिकाका ५० महिलालाई हातले कपडा बुन्ने तालिम प्रदान गरिने कार्यक्रम सुरू भएको छ। महिला विकास केन्द्रको आयोजनामा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको स्वीकृत कार्यक्रमअन्तर्गत महिलाहरूको सीप विकासका लागि तालिम सञ्चालन भएको हो।
तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताइन्। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डि.पि. ढकालले महिलाहरूलाई आर्थिक सशक्तीकरणमा टेवा पुर्याउन यस्ता तालिम आवश्यक रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा पूर्व संविधानसभा सदस्य उमा कपाली, चाँगुनारायण नगर समिति सचिव चण्डिका लामिछाने, अनेमसंघ (क्रान्तिकारी) भक्तपुर अध्यक्ष राजेश्वरी सिल्पकार, वाइसियल नेपाल भक्तपुर अध्यक्ष सरराज उप्रेतीलगायत ६० भन्दा बढीको उपस्थिति रहेको उक्त तालिम करिब एक महिनासम्म सञ्चालन हुनेछ।