

भक्तपुर, फागुन १४ – भक्तपुरको सूर्यविनायक पाण्डुबएजार स्थित एजे स्कूलले निःशुल्क वृहत् स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ। विद्यालय प्राङ्गणमा फागुन १७ गते शनिबार हुने यस शिविरमा विभिन्न स्वास्थ्य सेवाहरू निःशुल्क प्रदान गरिने छ।
शिविरमा बाल रोग, स्त्री रोग, हाडजोर्नी, सामान्य चिकित्सा, चिरफार तथा औषधि सेवा प्रदान गरिनेछ। स्थानीय समुदायलाई लक्षित गरी आयोजित यो स्वास्थ्य शिविरले विशेष गरी स्वास्थ्य जाँचमा सहज पहुँच पुर्याउने विश्वास गरिएको छ।
विद्यालयका प्रिन्सिपल कृष्णराम दुबालका अनुसार, यो शिविरले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत गर्नेछ। शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोली रहनेछ, जसले आवश्यक परामर्श र उपचार सेवा प्रदान गर्नेछन्।
यस शिविरलाई डा. इवामुरा मेमोरियल अस्पतालको प्राविधिक सहयोग रहनेछ। स्थानीय बासिन्दा, विद्यार्थी, अभिभावक तथा इच्छुक सबैले यस अवसरको भरपूर लाभ उठाउन आयोजक पक्षले आग्रह गरेको छ।
शिविर बिहानैदेखि सञ्चालन हुनेछ, र सहभागीहरूले आवश्यक परामर्श तथा औषधि सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन्। आयोजकहरूले समुदायलाई स्वास्थ्य प्रति सचेत गराउने उद्देश्यले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गरिने बताएका छन्।