

ललितपुर । पत्रकारिताका माध्यमबाट समाजमा भएका निराशा हटाउनुपर्नेमा ललितपुरमा आयोजित मिडिया साक्षरतासम्बन्धी कार्यक्रममा सहभागी वक्ताहरूले जोड दिएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाद्वारा बिहीबार आयोजित कार्यक्रममा विभिन्न प्रशिक्षक तथा वक्ताहरूले पत्रकारिताको भूमिकाबारे यस्तो धारणा राखेका थिए।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पत्रकारिताको उद्देश्य गलत र नकारात्मक सन्देश फैलाउने नभई समाजप्रतिको जिम्मेवारीबोधसहित सत्य सूचना प्रवाह गर्नु हुनुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो, “वाक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य स्वीकार्य हुँदैन। अदृश्य लगानीका कारण सञ्चारमाध्यमले निरन्तरता नपाउने अवस्था आउनु हुँदैन। पत्रकारिताले आशावादी र सकरात्मक सन्देश दिनुपर्छ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याओस्।”
महर्जनले विदेशमा रहेका नेपालीहरूले आफ्नो देशबारे सकारात्मक समाचार सुन्न पाउनुपर्नेमा पनि जोड दिनुभयो। साथै, एकपक्षीय धारणा राखेर वा नकारात्मकता मात्र प्रचार गर्ने पत्रकारिताले समाजमा निराशा उत्पन्न गर्ने भन्दै त्यस्तो प्रवृत्ति परित्याग गर्न आग्रह समेत गरेकन थिए।
कार्यक्रममा मिडिया कुराकानीका सम्पादक एवम् प्रशिक्षक रविराज बरालले पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (ए.आई) प्रयोगका सम्भावना र चुनौतीबारे प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष भवानी बरालले सञ्चार क्षेत्रको प्रविधिगत प्रभाव, पत्रकारको जिम्मेवारी र पक्षधरताका विषयमा प्रशिक्षण दिएका थिए । राजधानी दैनिकका पूर्व सम्पादक डिल्ली आर्चायले पत्रकारिताका आधारभूत अवधारणाबारे जानकारी गराएका हुन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष रामहरि कार्कीले गोदावरी नगरपालिकासँग निरन्तर सहकार्यको अपेक्षा व्यक्त गर्दै महासंघले नगरपालिकाको सञ्चार र विज्ञापन नीतिमा आवश्यक सहयोग र सुझाव दिन तयार रहेको बताााएका थिए ।