

काठमाडौं । भक्तपुरको मुख्य पर्यटकीय क्षेत्र रहेको नगरकोटमा सोमबार सम्पन्न उपत्यका मेयर्स फोरमको ११औँ बैठकले आगामी वैशाख १ गते २०८२ चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको ‘नगरकोट भ्रमण वर्ष’ सफल पार्ने निर्णय गरेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोटमा सम्पन्न उपत्यका मेयर्स फोरमको बैठकमा सहभागी बागमती प्रदेशका मुख्यमन्त्री, प्रदेश मन्त्रीहरू, नगर प्रमुखहरू, उपप्रमुखहरूलगायत जनप्रतिनिधिहरूको बैठकले तीनै तहका सरकारले भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने निर्णय लिएको छ ।
काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनको धुवाँ प्रदूषण परीक्षण प्रविधि कार्यान्वयनमा ल्याउने, उपत्यकाका अस्पाललजन्य फोहरमैला व्यवस्थापन गर्नेलगायत निर्णय बैठकले गरेको छ । प्रदेश सरकार र स्थानीय तहबीच वित्तीय हस्तान्तरण, राजस्व बाँडफाट र अन्तरतह समन्वयसम्बन्धी विषयमा छलफल गर्नुका साथै स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीचको आपसी सहकार्य, समन्वय गर्दै अगाडि बढ्नेबारे सहमति भएको थियो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटकीय क्षेत्र नगरकोटलाई मेयर्स फोरमका माध्यमबाट चिनाउने अवसर पाएको चर्चा गर्दै समग्र नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरकोट भ्रमण वर्ष मनाउन लागिरहेको जानकारी दिए । उनले मेयर्स फोरमलगायत प्रदेश सरकारलाई निमन्त्रणा दिँदै भ्रमण वर्ष सफल पार्न सहयोगी भूमिका निर्वाह गरिदिन आग्रह गरे चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीले नगरकोट भ्रमण वर्ष चाँगुनारायणको मात्रै नभई बागमती प्रदेशका साथै मुलुकको पहिचान र पर्यटकीय गन्तव्य भएकाले स्वदेशी तथा विदेशी पर्यटकलाई नगरकोटको बसाई लम्ब्याउन पर्यटन वर्ष सफल हुने विश्वास व्यक्त गरे ।
मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनको सभापतित्वमा सम्पन्न बैठकमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखहरूको सहभागिता रहेको थियो । बैठकमा चाँगुनारायण नगरपालिकाको बृहत रूपमा तयार पारिएको वृत्तचित्र प्रर्दशन गरिनुका साथै कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोललाई पहिलो पटक बैठकमा स्वागत गरिएको थियो ।