News Portal

  • थपियो १५ दिन , घटना जाँचबुझ आयोगको अवधि _ बालकुमारी घटना

    दोलागिरि संवाददाता२०८० माघ २१
    २१३ पटक

    काठमाडौ । ललितपुर बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको झडपको घटना सम्बन्धी जाँचबुझ आयोगको समयावधि १५ दिनका लागि थपिएको छ।

    मन्त्रिपरिषदको बैठकले थप १५ दिनका लागि समय दिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

    पुस १३ गते बालकुमारीमा इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलन भएको थियो। जसक्रममा प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो। उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडीमा आगजनी समेत गरिएको थियो।

    घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको ज्यान गएको थियो।

    दुई जनाको मृत्यु हुने गरी घटना भएपछि सरकारले पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। पूर्व एआइजी अरूण बिसी र सहसचिव भट्टराई उक्त समितिमा छन्। सरकारले उक्त आयोगलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनेको थियो।

    तर छानबिन प्रक्रिया नसकेपछि आयोगको समय थपिएको हो।

    बालकुमारी घटनामा गोली चलाउन निर्देशन दिने प्रहरी नायब उपरीक्षक उमेश लम्साल, मन्त्री ज्वालाका पिएसओ बोधराज दनुवार र इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो। ललितपुर परिसर प्रमुख एसएसपी शिद्धिबिक्रम शाह र प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितको सरूवा भएको थियो।

    प्रतिकृया दिनुहोस्