News Portal

  • कास्की प्रहरीको हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा निकोलस भुसाल पक्राउ

    दोलागिरि संवाददाता२०८१ पौष ८
    १७ पटक

    काठमाडौं । कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

    उनलाई आइतबार साँझ काठमाडौंको थलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए । भुसालले प्रहरीको सिसिटिभीमा देखिएको लामिछानेको तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्वीकार गरेका छन् ।

    गत शनिबार लामिछानेलाई भेट्न जाने क्रममा प्रहरीकै सिसिटिभीमा सुतिरहेको देखेपछि आफूले तस्बिर खिचेको बताएका थिए । ‘मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ । त्यतिबेला कसैले केही भनेन । गल्ती भयो,’ उनले स्वीकार गर्दै फेसबुक लाइभ मार्फत् भनेका थिए । भुसालले तस्बिर फेसबुकमा पोस्ट गरेपछि रास्वपाका कार्यकर्ताले त्यसलाई भाइरल बनाएको दाबी गरेका छन् ।

    कास्की प्रहरीले लामिछाने पक्राउ परेपछि कार्यालयमा मोबाइल लैजान रोक लगाएको भए पनि भुसालले मोबाइल गेटभित्र लैजान सफल भएका थिए । फोटो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न निर्देशन दिएका थिए। त्यसपछि कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको कदमले साइबर कानुनको उल्लंघन गरेको जनाएको थियो ।

    पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने एसएसपी भट्टराईले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्