News Portal

  • ६ सय जनाबाट ६९ करोड ठग्ने बिकास वाइबा भन्ने सुजनको ठगी धन्दाको नालिबेली

    आफूलाई विकास वाइबा भनेर चिनाउने सुजनले दुई वटा नाममा ६९ करोड रुपैयाँ ठगे

    दोलागिरि संवाददाता२०८० माघ २०
    १९२ पटक

    काठमाडौँ: ललितपुरको कोन्जोसोम गाउँपालिका–४ घर भएका सुजन तामाङ अहिले वैदेशिक रोजगार विभागको थुनामा छन् ।  आफूलाई विकास वाइबा भनेर चिनाउने ३२ वर्षीय सुजनले दुई वटा नाममा ६९ करोड रुपैयाँ ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनी १७ माघमा पुल्चोकबाट पक्राउ परेका हो।

    आरोपीविरुद्ध ताहाचल स्थित वैदेशिक रोजगार विभागमा ६ सय २ जना पीडितले उजुरी दिएका छन् । बालाजुमा ‘युरो विङ्स’ नामको कन्सल्टेन्सीको आवरणमा सुजनले ठगी धन्दा चलाएका हुन् । कन्सल्टेन्सी मार्फत युरोपियन मुलुकमा पठाउने सपना देखाएर उनले ठगी धन्दा चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी एसएसपी सोमेन्द्र सिंह राठौरले बताए ।

    सर्लाहीका सुशील पाख्रिनले फेसबुकमा पोल्यान्ड जान पाउने विज्ञापन देखिए । विज्ञापन ‘युरो विङ्स’को फेसबुक पेजमा थियो । सामाजिक सञ्जालको विज्ञापन हेरेर पाख्रिन बालाजुस्थित सो कन्सल्टेन्सीको अफिसमा पुगे ।

    त्यहाँ उनले विकास वाइबालाई भेटे । तर, उनी विकास वाइबा नभएर सुजन तामाङ रहेको प्रहरीले पक्राउ गरेपछि मात्र शुशिलले थाहा पाए। ‘मलाई सुरुमा पुलिस रिपोर्ट बनाउनुपर्छ भनेर ५० हजार मागेका थिए’ शुशिलले दोलागिरीसँग भने, ‘१ महिनामा लेभर कन्ट्याक्ट लेटर आउँछ त्यसपछि बायोमेट्रिक गर्न २ लाख चाहिन्छ भने ।’

    पोल्यान्ड गएर ‘प्याकेजिङ’को काम गर्न पाइने आशामा शुशिल र उनका दाईले सुजनलाई ४ लाख तिरेका हुन् । तर, अहिले उनीहरू सो पैसा फिर्ता हुने आशामा प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागमा धाइरहेका छन् ।

    सुजनले सञ्चालन गरेको कार्यालयमा काम गर्ने ‘मिका’ नाम गरेकी कर्मचारीले पीडितको विवरण अनलाइनमा देखाउने गर्थिन । सो सफ्टवेयर उनीहरूले नक्कली बनाएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सुशील भन्छन्, ‘तिहार लगत्तै  बायोमेट्रिक लिनुपर्छ भनेका थिए तर, चार लाख लिएपछि कन्सल्टेन्सी संचालक सम्पर्कविहीन भए ।’

    सुजन तामाङले क्रोएसिया, पोल्याण्ड, माल्टा, लक्जम्बर्ग र क्यानडा पठाउँछु भनेर रकम लिएपछि सम्पर्क विहीन भएको पीडितहरू बताउँछन् । विकास वाइबाको नामबाट उनले ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

     

    युरो विङ्स कन्सल्टेन्सीका कर्मचारीले २०८० असोजतिर अनलाइनमा आफ्नो भिसा देखाएपछि विश्वास लागेको पाख्रिनले बताए । उनी भन्छन्, ‘पैसा बुझाएपछि मात्र ठगिएको थाहा पायौँ ।’

     

     

    ठगेको रकम लगानी

    सुजनले पीडितहरूबाट लिएको मध्ये ५० लाख रुपैयाँ बसुन्धाराको राप्ती म्यानपावरमा लगानी गरेको भेटिएको छ । म्यानपावरमा उनले ५० लाख लगानी गरेको अनुसन्धानमा संलग्न डिएसपी अनिल घिमिरेले बताए ।

    ४ करोड रुपैयाँ उनले व्यक्तिगत ऋण तिरेका छन् । ३५ लाख रुपैयाँमा हुण्डाइको क्रेटा गाडी खरिद गरेको सुजनले प्रहरीलाई बताएका छन् ।

    भाइ सुवास तामाङको खातामा १५ लाख ५० हजार डिपोजिट गरिदिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनी ५ लाखको सुनका ब्रासलेट लगाएर हिँड्छन् ।

    प्रतिकृया दिनुहोस्