
काठमाडौं मंसिर २१ । जानकी मन्दिर जनकपुरमा आज शुक्रबार विवाह पञ्चमी मनाइदैछ । भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ सम्पन्न हुँदै छ। साताव्यापी विवाहपञ्चमी महोत्सवका रुपमा मनाउने चलन रहेको छ । जस अन्तर्गत बिहीबार मटकोर विधि सम्पन्न भएको छ। धार्मिक तथा ऐतिहासिक गंगासागर पोखरीमा ढोलबाजासहित पुगेका जानकी मन्दिरका महन्थ तथा पूजारीहरूको टोलीले माता सीताको प्रतीकात्मक स्वरूपलाई राखेर मटकोर विधि सम्पन्न गरि सकेको हो।
मटकोर विधिमा राम र सीताको प्रतिकात्मक रूप बनाइएका बालबालिकालाई पानीले चोख्याउने परम्परा रहेको वताइन्छ। यस विधिमा सहभाहिता जनाउन हजारौंको संख्यामा श्रद्धालुहरू गंगासागरमा जम्मा हुने गरेकन छन् । मटकोर विधि सम्पन्न भएसँगै रामसीता विवाहको सम्पूर्ण तयारीसमेत पूरा भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए।
‘आज मुख्य उत्सव हो जानकी मन्दिरबाट माता जानकीको डोला र राम मन्दिरबाट भगवान् रामको डोलालाई नगर परिक्रमा गराएर रंगभुमी बाह्रबिघा मैदानमा पुर्याएपछि हामी भव्य स्वम्बर विधि सम्पन्न गर्ने छौं। स्वम्बर सम्पन्न भएर डोला मन्दिरमा फर्केर आउँछ र त्यसपछि साँझको बेलाबाट विवाहको मुख्य कार्यक्रम जानकी मन्दिरको प्रांगणमा बनाइएको मण्डपमा सम्पन्न हुने छ।’










