काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृह मन्त्री रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारी संस्थाको बचत रकम हिनामिनाका आरोपमा मुछिएर गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले चितवन प्रहरीको हिरासतमा रहेका छन् ।
लामिछानेमाथि बीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न प्रहरिलाइ अनुमति दिएको छ ।
लामिछानेसहित छविलाल जोशी र अन्य १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनकारी दिएको छ । सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् ।