News Portal

  • प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै

    दोलागिरि संवाददाता२०८१ मंसिर १०
    ३६ पटक

    १० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्ने भएका छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने जानकारी दिएको छ ।

    प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने भएका छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए । ‘सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुने छ । कसरी सफल भयो भन्नेबारे म फर्केपछि सम्प्रेषण गर्ने नै छु प्रधानमन्त्री ओलीले भनेका थिए ।

    प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् ।

    चीन भ्रमणको क्रममा राख्ने एजेण्डाबारे प्रधानमन्त्री ओलीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।नेपाल समाजवादी पार्टी (नयाँ शक्ति}का संयोजक डा बाबुराम भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित हुने भएका छन् । तर, आफू गृहजिल्ला गोरखा जान लागेकाले प्रधानमन्त्रीले चीन भ्रमणको सन्दर्भमा बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।

    प्रतिकृया दिनुहोस्