काठमाडौं: आकर्षक तलब सहित रोजगारीका लागि विदेशमा पठाइ दिने भन्दै करोडौं रुपैंयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाई दिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
बालाजुमा युरो विङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६०० भन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर फरार रहेको तामाङलाई गठी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका-४ स्थायी बसोबास रहेको तामाङले विकास वाइबाको नक्कली परिचय पत्र बनाएर ठगीमा संलग्न भएको प्रहरीले जनाएको छ । एक जनाबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।
बुधबार पक्राउ परेका उनलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले आरोपित तामाङले ठगीको रकमबाट चार करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।