News Portal

  • भक्तपुर सल्लाघारीमा असोज २१ देखि दसैँ रमाइलो महोत्सव हुदैं

    दोलागिरि संवाददाता२०८३ आश्विन १९
    ९ पटक

    १९ असोज २०८३ भक्तपुर । नेपालीहरूको महान् पर्व बडादसैँको अवसर पारेर भक्तपुरको सल्लाघारीमा ‘दसैँ रमाइलो महोत्सव–२०८३’ आयोजना हुने भएको छ । औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा असोज २१ गते बुधबारदेखि असोज ३० गतेसम्म भक्तपुर नगरपालिका–१ स्थित सल्लाघारी खुला चौरमा महोत्सव सञ्चालन हुने भएको हो ।

    महोत्सवबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक संगम लामाले दैनिक उपभोग्य सामग्रीदेखि कृषि, हस्तकला, खाद्यान्न, जुत्ता–चप्पल तथा अटोमोबाइललगायतका सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि ५० भन्दा बढी स्टल रहने जानकारी दिए ।

    महोत्सवमा मनोरञ्जनका लागि बालउद्यान, रोटेपिङ, झुला, नाउ, मिनी बन्जी जम्प, वाटर बल, मिकी माउस, ट्राम्पोलिनलगायतका विभिन्न खेल तथा मनोरञ्जनका सामग्री राखिने आयोजकले जनाएको छ ।

    त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्ग्य तथा गीत–गायन कार्यक्रमसमेत आयोजना गरिनेछ । महोत्सव अवधिभर हरेक दिन खुला नृत्य प्रतियोगिता सञ्चालन गरिने आयोजकको भनाइ छ । के.डी. श्री डान्स कल्चर एकेडेमी प्रा.लि.को विशेष सांस्कृतिक प्रस्तुतिसमेत रहने जनाइएको छ ।
    स्थानीय व्यापारी तथा व्यवसायीलाई समेत लक्षित गरी स्टलको आकारअनुसार न्यून शुल्कमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सवमा विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

    आयोजकका अनुसार महोत्सवले भक्तपुरका स्थानीय उत्पादन, व्यापार, कला–संस्कृति तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरमा दसैँको अवसरमा आयोजना हुने महोत्सवले स्थानीय व्यवसायी, उत्पादक तथा उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

    महोत्सवलाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी पूरा भइसकेको तथा अहिले स्टल निर्माणलगायतका काम भइरहेको संयोजक लामाले जानकारी दिए । उनले दसैँको अवसरमा सल्लाघारीमा आयोजना हुने महोत्सवको अवलोकन गर्न भक्तपुरवासी तथा सर्वसाधारणलाई आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्