News Portal

  • २५ औं इच्छुक स्मृति दिवस विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८३ जेठ १४
    ४८ पटक

    १३ जेठ २०८३ काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको आयोजनामा २५औौं इच्छुक स्मृति दिवसको अवसरमा आयोजित “सडक प्रतिरोधमा कविता र गीत” कार्यक्रम माइतीघर मण्डलामा भव्य रूपमा सम्पन्न भएको छ ।

    “भुइँको कविता, भुइँको गीत — बोल्छ कविता, बोल्छ गीत” भन्ने नारासहित सम्पन्न कार्यक्रममा प्रगतिशील साहित्य, जनवादी गीत–संगीत र सांस्कृतिक प्रतिरोधका माध्यमबाट महान् सांस्कृतिक शहीद कृष्णसेन ‘इच्छुक’ प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रममा विभिन्न जनवादी कलाकार, कवि तथा सांस्कृतिककर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    कार्यक्रममा जनवादी कलाकार माईला लामा, माधव प्रधान, प्रगतिशील कवि तथा सांस्कृतिककर्मी मात्रिका पोखरेल, केशव शिलवाल, मुक्तान थेवा, शोभा दुलाल, कलाकार सुशील सिंह ठकुरी, केशव कालिकोटे, आरोह सी, एलिना लगायतले जनवादी गीत, कविता तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
    उक्त कार्यक्रममा सहभागीहरूले कृष्णसेन ‘इच्छुक’ले स्थापित गरेको जनपक्षीय कला–संस्कृतिको मार्गलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । वक्ताहरूले वर्तमान समयमा पनि अन्याय, विकृति र सांस्कृतिक हस्तक्षेपविरुद्ध प्रतिरोधको आवाज बुलन्द गर्न प्रगतिशील कला–साहित्यको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।
    माइतीघर मण्डलामा आयोजित कार्यक्रममा सांस्कृतिक प्रतिरोधका गीत, कविता तथा जनवादी नाराहरू गुञ्जिएका थिए । कार्यक्रममा उपस्थित दर्शक तथा सांस्कृतिक अभियन्ताहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्