News Portal

  • दलाल र साम्राज्यवादीको खेलबाड रोकौँ : विप्लव

    दोलागिरि संवाददाता२०८२ आश्विन ४
    २२५ पटक

    काठमाण्डौँ, ४ असोज २०८२  । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सामाजिक सञ्जालमार्फत विदेशी साम्राज्यवाद र भित्रैका दलाल शक्तिहरूविरुद्ध कडा  चेतावनी दिएका छन्।

    फेसबुक  सन्देशमार्फत उनले नेपालमा साम्राज्यवादी स्वार्थका कुकुरहरू चोरझैँ घुस्न खोजिरहेको र त्यसलाई सहयोग गर्ने दलाल नेताहरू आफ्ना मालिकको गोडा चाट्दै राष्ट्रघाती भूमिकामा सक्रिय रहेको आरोप लगाएका छन्।

    विप्लवले भनेका छन् “यदि हामी सबै सचेत भएनौँ भने अकल्पनीय विध्वंस बेहोर्नु पर्नेछ। आफ्नै खुट्टामा उभिएर आफ्नै पौरखमा देश बनाउनुपर्ने आँट नगरेसम्म स्वाधीनता र समृद्धि सम्भव छैन।”

    उनले भनेका छन, अहिलेको संकट विदेशी स्वार्थ र स्थानीय दलालहरूको साँठगाँठकै कारण उत्पन्न भएको हो। “हाम्रो संरक्षक देखिने दलाल कुत्ताहरू नै मालिकको गोडा ढोग्दै छन्,” भन्ने कठोर टिप्पणी गर्दै उनले जनतालाई राष्ट्रिय हित र आत्मनिर्भर अर्थतन्त्रको बाटोतर्फ लाग्न आह्वान गरेका छन्।

    राजनीतिक वृत्तमा विप्लवको यो भनाइलाई आगामी दिनमा पार्टीगत सहकार्य, राष्ट्रिय स्वाधीनता आन्दोलन र आर्थिक आत्मनिर्भरता अभियानसँग जोडेर हेरिएको छ। उनी नेतृत्वको पार्टीले कृषिमा आधारित अर्थतन्त्र, उत्पादनमुखी उद्योग र ऋणमुक्त नेपालको नारा उठाउँदै आएको छ।

    यसअघि पनि विप्लवले विभिन्न अवसरमा विदेशी ऋण र आयातमुखी अर्थतन्त्रलाई देशको दीर्घकालीन संकटको कारण बताउँदै आएका थिए। उनका अनुसार, “साँचो राष्ट्रनिर्माण केवल आत्मनिर्भर उत्पादन र स्वाभिमानमा आधारित राजनीतिक दिशा लिएर मात्र सम्भव हुन्छ।”

    उनको पछिल्लो फेसबुक सन्देशले फेरि एकपटक राष्ट्रिय स्वाधीनता र दलालविरोधी बहसलाई तीव्र बनाएको छ। सामाजिक सञ्जालमा युवादेखि विभिन्न राजनीतिक समूहहरूले यसलाई साझा राष्ट्रिय मुद्दासँग जोडेर चर्चा गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0