News Portal

  • आदिवासी भाषालाई डिजिटल माध्यममा ल्याउनुपर्छ: अध्यक्ष दाहाल

    दोलागिरि संवाददाता२०८२ साउन २४
    २२ पटक

    काठमाडौं, साउन २३ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिका हराउँदै गएका भाषा र सांस्कृतिक सम्पदालाई कृत्रिम बौद्धिकता (एआई) र प्रविधिको प्रयोगमार्फत संरक्षण गरी विश्वव्यापी परिचित बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

    साउन २२ गते बिहीबार वसन्तपुर डबलीमा आयोजित ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवद्र्धन) कार्यक्रममा अध्यक्ष दाहालले भने, “नेवार समुदायको नेपाल भाषा अहिले गुगलमा उपलब्ध छ — यो नै प्रविधिको सही प्रयोगको उदाहरण हो।” उनले हराउँदै गएका भाषा, लिपि, मौखिक परम्परा, गीत, कथा, वस्तुकला र औषधीय ज्ञानजस्ता सम्पदा डिजिटल माध्यमबाट जोगाउन सकिने बताए।

    आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को नेपाल र एफएओ नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा यस वर्षको ३१औं विश्व आदिवासी दिवस आदिवासी भाषा र परम्परागत खानालाई केन्द्रमा राखेर मनाइने जानकारी दिइयो। संयुक्त राष्ट्रसंघले सन् १९९४ मा अगस्ट ९ लाई विश्व आदिवासी दिवसको रूपमा घोषणा गरेपछि नेपालमा पनि यो दिवस मनाउँदै आएको छ।

    नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले यसपटक एक सातासम्म विभिन्न कार्यक्रममार्फत भव्य रूपमा दिवस मनाउने तयारी भइरहेको बताए। उनले यस अवसरलाई सरकार र सम्बन्धित निकायसम्म आदिवासीको आवाज पुर्याउने अवसरको रूपमा उपयोग गरिने जनाए।

    आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले विश्वका करिब ८०% खाद्यान्नसम्बन्धी ज्ञान आदिवासीको परम्परागत सीपमा आधारित रहेको उल्लेख गर्दै अधिकारका लागि आदिवासी समुदायको दीर्घ संघर्षबारे चर्चा गरे।

    राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पाले आदिवासी खाद्यान्न र परम्परागत ज्ञानको संरक्षणमा महिलाको महत्वपूर्ण भूमिका हुने बताइन्। उनले विकासका नाममा आदिवासी समुदाय आफ्नो थलोबाट विस्थापित भइरहेका विषयमा चिन्ता व्यक्त गर्दै सबैलाई सचेत रहन आग्रह गरिन्।

    नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङका अनुसार, बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा भइसकेका छन् भने गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई पनि त्यस्तै मान्यता दिन प्रयास भइरहेको छ।

    कार्यक्रममा नेवार, थारु, तामाङ, गुरुङ, मगर, सुनुवार, भुजेल, माझी, छन्त्याल र थामी समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिए। थारु कल्याणकारिणी सभा (थाकस) ले घोङ्घी, अनदीको भात, भक्का, गंगटा, महुवाको रक्सी, ढिक्री, बरिया, बयरको चटनी, चिच्चर, खुर्मा र जाँरको झोललगायत थारु परिकार प्रदर्शन गर्‍यो। साथै, नेवार समुदायका परम्परागत खाजाहरू पनि प्रदर्शनमा राखिएका थिए।

    कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, सांसद उर्मिला माझी, आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षहरू नगेन्द्रकुमार कुमाल र जगत बराम, पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्यसचिव ज्ञानेन्द्र पुनले गरेका थिए।

     

    प्रतिकृया दिनुहोस्