
वीरगन्ज, वैशाख १७ — मधेश प्रदेशको वीरगन्जस्थित नारायणी अस्पतालमा क्यान्सर पीडितका लागि किमोथेरापी सेवा सुरु गरिएको छ। भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको यस सेवामार्फत अब बिरामीहरूले काठमाडौँ वा अन्य शहर जानु नपर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सातै प्रदेशमा क्यान्सर सेवा विस्तार गर्ने सरकारी योजनाअनुरूप गत भदौ २५ गतेदेखि नारायणी अस्पतालमा क्यान्सर ओपिडी सेवा सुरु गरिएको थियो। त्यसपछि आजबाट किमोथेरापी सेवा पनि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा. उज्वल चालिसेका अनुसार, “मधेश प्रदेशमा यसअघि ओपिडी सेवा मात्रै सञ्चालनमा थियो, अब किमोथेरापीसहितको सेवा सुरु भएसँगै उपचारको पहुँच सहज भएको छ।”
सेवाको सुरुआत स्तन क्यान्सरबाट पीडित एक महिलालाई किमोथेरापी दिएर गरिएको हो। आगामी दिनमा प्यालिएटिभ केयर सेवा पनि सुरु गर्ने तयारी भइरहेको उनले बताए।
किमोथेरापी सेवा भक्तपुर अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. प्रभु शाहको नेतृत्वमा सुरु गरिएको हो। सेवा निरन्तरता दिने प्रतिबद्धता अस्पताल प्रशासनले जनाएको छ।
नारायणी अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये अधिकांश नाक, कान, घाँटीको क्यान्सरबाट पीडित रहेको जनाइएको छ। सूर्तीजन्य पदार्थको अत्यधिक प्रयोग मधेशमा यस्ता क्यान्सरको मुख्य कारण भएको डा. चालिसेले बताए।
कोशी प्रदेशमा भने किमोथेरापी सेवा यसअघि नै सुरु भइसकेको छ। विशेषज्ञ चिकित्सकको पर्याप्त उपलब्धता रहेकाले त्यहाँ सेवा निरन्तर सञ्चालनमा रहेको र आवश्यकतामा भक्तपुर अस्पतालले शल्यक्रियाका लागि चिकित्सक पठाउँदै आएको बताइएको छ।