काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि सरकारले निरङ्कुश र अमानवीय व्यवहार देखाएको आरोप लगाएका छन् ।
पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रविमाथि सरकारले गरेको अलोकतान्त्रिक, निरङ्कुश तथा प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न उनले आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले लेखेका छन्– ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा।रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु ।’
सहकारी ठगी गरेको आरोपमा लामिछानेलाई कातिक २ गते पक्राउ गरी कास्की प्रहरी हिरासतमा राखिएको छ । अस्वस्थ हुँदाहुँदै राति नै प्रहरीले चितवनबाट उठाएर पोखरा लगिएकोमा लामिछानेले आपत्ति जनाएका छन् ।