News Portal

  • एमालेभित्र नेतृत्वको विरोध होइन, पार्टी पुनर्संरचना र संगठन सुदृढीकरण आवश्यक : महेश बस्नेत

    दोलागिरि संवाददाता२०८३ भाद्र ५
    ३३ पटक

    काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले अहिले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चलाउनेभन्दा पार्टीको पुनर्संरचना, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा ध्यान दिनुपर्ने बताएका छन्।

    बस्नेतले एमालेका पूर्वनेताहरू भीम रावल, घनश्याम भुसाल र माधवकुमार नेपालहरूको राजनीतिक यात्रालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेतृत्वको विरोध मात्रै गर्दैमा राजनीतिक प्रभाव बलियो नहुने धारणा राखे। पार्टीबाट अलग भएपछि उनीहरूको राजनीतिक प्रभाव अपेक्षाकृत कमजोर भएको उनको दाबी छ।

    एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट निर्वाचित भएको स्मरण गराउँदै सचिव बस्नेतले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निश्चित विधि र प्रक्रियाबिना चुनौती दिनु पार्टीको संस्थागत लोकतान्त्रिक अभ्यासका लागि उचित नहुने बताए।
    उनले भने, “अध्यक्ष केपी शर्मा ओली कसैले टीका लगाएर बनाएको अध्यक्ष होइन, महाधिवेशनबाट निर्वाचित अध्यक्ष हो। हिजो महाधिवेशनमा उहाँकै टिममा पर्न तँछाडमछाड गर्ने र आज महाधिवेशन सम्पन्न भएको छ महिना पनि नपुग्दै बाँकी कार्यकाल नसकिँदै नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्नु लोकतान्त्रिक विधि र संस्थागत प्रक्रियामाथिको प्रहार हो।

    बस्नेतका अनुसार पार्टीको पुनर्गठन भनेको केवल नेतृत्व वा व्यक्तिको परिवर्तन गर्नु होइन। पार्टीको नीति, संगठनात्मक संरचना, कार्यशैली, जनतासँगको सम्बन्ध तथा संगठन सञ्चालनको तौरतरिकामा आवश्यक सुधार ल्याउनु नै वास्तविक पुनर्संरचना भएको उनको भनाइ छ।

    “सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन,” उनले भने, “पार्टीको नीति, संगठन, कार्यशैली र जनसम्बन्धमा सुधार आवश्यक छ। आजको आवश्यकता व्यक्ति परिवर्तन होइन, पार्टीलाई थप व्यवस्थित, गतिशील र जनमुखी बनाउनु हो।”
    उनले एमालेभित्र विभिन्न माध्यमबाट फैलाइएका भ्रम र निराशालाई चिर्दै पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिए। साथै, सरकारका गलत निर्णय र कमजोरीविरुद्ध पार्टीले प्रभावकारी खबरदारी गर्नुपर्ने उनको धारणा छ।

    बस्नेतले नेतृत्व परिवर्तन लोकतान्त्रिक राजनीतिक प्रक्रियाको स्वाभाविक विषय भएको स्वीकार गर्दै त्यसका लागि निश्चित विधि, समय र संस्थागत प्रक्रिया पालना गर्नुपर्ने बताए। नेतृत्व परिवर्तनको उपयुक्त समय आएपछि लोकतान्त्रिक विधिबाट सम्मानजनक हस्तान्तरण गर्न सकिने उनको भनाइ छ।
    “नेतृत्व परिवर्तनको समय पनि आउँछ। त्यतिबेला लोकतान्त्रिक विधिबाट सम्मानजनक हस्तान्तरण गरौँ। अहिले धैर्य, एकता र संगठन सुदृढीकरण आवश्यक छ,” सचिव बस्नेतले भने।
    उनका अनुसार अहिले पार्टीभित्र अनावश्यक गुटबन्दी र नेतृत्वकेन्द्रित विवाद सिर्जना गर्नुभन्दा संगठनलाई जनताको बीचमा लैजाने, कार्यकर्ताको मनोबल बढाउने र पार्टीलाई थप सुदृढ बनाउने दिशामा सबैको ध्यान केन्द्रित हुनुपर्छ।

    प्रतिकृया दिनुहोस्