News Portal

  • गंगादाहालको चुनौती :आफ्नो परिवारमाथि लगाइएका सम्पत्तिसम्बन्धी आरोप सार्वजनिक गर

    दोलागिरि संवाददाता२०८३ भाद्र ४
    २३ पटक

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगादाहालले आफू र आफ्नो परिवारमाथि लगाइएका सम्पत्तिसम्बन्धी आरोपप्रति कडा आपत्ति जनाउँदै आरोप पुष्टि गर्ने प्रमाण सार्वजनिक गर्न चुनौती दिएकी छन्।

    गंगादाहालले सार्वजनिक वक्तव्यमार्फत केही समयअघि आफूहरूसँग दुबईमा ४० अर्ब रुपैयाँ रहेको, नेपालका ठूला घरजग्गा तथा भाटभटेनीलगायतका व्यवसायसमेत आफूहरूको स्वामित्वमा रहेको जस्ता आरोप लगाइएको उल्लेख गरेकी छन्। त्यतिबेला आफूहरू मौन बसेको भए पनि अहिले ४० अर्बको आरोपलाई घटाएर ५० करोड रुपैयाँको नयाँ हल्ला फैलाउन खोजिएको भन्दै उनले आपत्ति जनाएकी हुन्।

    “राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला!” भन्दै उनले प्रमाणबिनाको आरोप र अफवाहले आफूहरूलाई गम्भीर बनाएको बताएकी छन्। उनले आरोप लगाउने पक्षलाई सार्वजनिक रूपमा चुनौती दिँदै त्यस्ता दाबीको पुष्टि गर्न आग्रह गरेकी छन्।
    गंगादाहालले आफू र आफ्नो परिवार संविधान तथा प्रचलित कानुनअनुसार हुने जुनसुकै निकायको कानुनी छानबिनका लागि तयार रहेको स्पष्ट पारेकी छन्। आफूहरूले केही समयअघि नै सरकारसमक्ष सम्पत्ति विवरण बुझाइसकेको उल्लेख गर्दै उनले अनुसन्धानका क्रममा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।

    “गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौं, तर बिनाकारण र बिना गल्तीको आरोप स्वीकार्य छैन,” उनको भनाइ छ।
    उनले आफ्नो बाल्यकालदेखि नै समाज परिवर्तनको राजनीतिक आन्दोलनमा बितेको स्मरण गर्दै आफूहरू मृत्युको मुखबाट बाँचेर आएको र जनतालाई धोका दिने काम आफ्नो राजनीतिक संस्कार नभएको दाबी गरेकी छन्।

    आफ्नो बुवालाई छोरीको नाताले सहयोग गर्नु नै अपराध ठहरिने हो कि भन्ने प्रश्न गर्दै उनले समाजका अगुवा तथा आमाबुबालाई समेत यस विषयमा सोच्न आग्रह गरेकी छन्।
    गंगादाहालले आफूहरूबाट कुनै आर्थिक गलत गतिविधि वा पदको दुरुपयोग नभएको दाबी गर्दै आगामी दिनमा पनि त्यस्तो कार्य नगर्ने प्रतिबद्धता जनाएकी छन्। साथै, आफू र परिवारविरुद्ध फैलाइएका विभिन्न आरोप अस्वीकार गर्दै उनले अफवाहका आधारमा भ्रममा नपर्न आम नागरिकलाई आग्रह गरेकी छन्।

    उनको भनाइमा, आरोप लगाउने र आरोपित दुवै पक्षलाई कानुनी प्रक्रियामार्फत तथ्य र प्रमाणको परीक्षण गर्ने अवसर दिनुपर्छ। प्रमाणबिना सामाजिक तथा राजनीतिक रूपमा आरोप–प्रत्यारोप गर्ने प्रवृत्तिले व्यक्तिको प्रतिष्ठासँगै सार्वजनिक बहसको विश्वसनीयतामाथि समेत प्रश्न उठाउने उनको संकेत छ।

    प्रतिकृया दिनुहोस्